Home » Blog » ‘शून्य भ्रष्टाचार’ भन्ने रास्वपाका सांसदले नै गरे १४ करोड भ्रष्टाचारका आरोपितलाई सम्मान

‘शून्य भ्रष्टाचार’ भन्ने रास्वपाका सांसदले नै गरे १४ करोड भ्रष्टाचारका आरोपितलाई सम्मान

Ankushdaily
0 comment 61 views
विरगंज ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा भ्रष्टाचार मुद्दा दायर गरिएका तथा हाल निलम्बनमा रहेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. सुरेन्द्रप्रसाद चौरसियालाई पर्सा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद रामाकान्त चौरसियाले काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सम्मान गरेका छन्। ‘चौरसिया समाज’ ले आयोजना गरेको रक्तदान तथा सम्मान कार्यक्रममा सांसद चौरसियाले उनलाई कदरपत्र प्रदान गरेका हुन्।
‘शून्य भ्रष्टाचार’ को नारा बोकेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद नै भ्रष्टाचार आरोपित व्यक्तिलाई सम्मान गर्न पुगेपछि पार्टीको नीतिगत प्रतिबद्धतामाथि गम्भीर प्रश्न उठेको छ। कतिपयले यस कदमलाई भ्रष्टाचारलाई प्रश्रय दिएको रूपमा टिप्पणी गरेका छन्।
तर, यस विषयमा सांसद रामाकान्तले भने डा. चौरसियाको पृष्ठभूमि र उनीमाथि लागेको मुद्दाबारे आफूलाई कुनै जानकारी नभएको र आयोजकले दिएको जिम्मेवारीअनुसार प्रमाणपत्र मात्र वितरण गरेको स्पष्टीकरण दिएका छन्।
स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख रहँदा डा. चौरसियामाथि म्यामोग्राफी मेसिन खरिद प्रक्रियामा मिलेमतो गरी अनियमितता गरेको गम्भीर आरोप छ। सोही प्रकरणमा अख्तियारले उनीसँग १४ करोड ६ लाख ६५ हजार ४ सय रुपैयाँ बिगो असुलउपर र कैद सजायको मागदावी गर्दै २०८२ कात्तिक २ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। हाल विचाराधीन रहेको उक्त मुद्दामा डा. चौरसियासहित तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रा र अन्य १२ जना गरी कुल १४ जना प्रतिवादी छन्।
विवादित पृष्ठभूमिका डा. चौरसियालाई यसअघि २०८० साल भदौ २१ गते खरिद प्रक्रियामै हिनामिना गरेको आरोपमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल (बागमती प्रदेश) ले कालोमोसो समेत दलेको थियो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.