Home » Blog » लोकतन्त्र सुदृढीकरणका लागि प्रेस स्वतन्त्रता अपरिहार्य: डा. च्याड स्टेब्बिन्स

लोकतन्त्र सुदृढीकरणका लागि प्रेस स्वतन्त्रता अपरिहार्य: डा. च्याड स्टेब्बिन्स

Ankushdaily
0 comment 6 views
वासिङ्टन डीसी  ।

विश्व प्रेस स्वतन्त्रता दिवस २०२६ को अवसरमा संयुक्त राज्य अमेरिकास्थित नेपाली दूतावास र नेपाल अमेरिका पत्रकार संघ (नेजा) द्वारा आयोजित विशेष अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले प्रेस स्वतन्त्रता र व्यावसायिक पत्रकारिताको महत्त्वमाथि जोड दिएका छन्। वासिङ्टन डीसीस्थित दूतावास भवनमा आयोजित उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय साप्ताहिक पत्रपत्रिका सम्पादक समाज (ISWNE) का कार्यकारी निर्देशक एवं प्रतिष्ठित शिक्षाविद् डा.च्याड स्टेब्बिन्सले प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र सञ्चारमाध्यम अपरिहार्य रहेको बताउनुभयो।

डा. स्टेब्बिन्सले बदलिँदो विश्वव्यापी सञ्चार वातावरणले सिर्जना गरेका जटिलताबारे गम्भीर विश्लेषण प्रस्तुत गर्दै प्रेस स्वतन्त्रता र व्यावसायिकताको रक्षाका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। पत्रकारहरूको हकहितका पक्षमा दृढ धारणा राख्दै उहाँले जिम्मेवार पत्रकारिताले मात्रै समाजलाई सही दिशा दिन सक्ने तर्क गर्नुभयो। सोही अवसरमा नेजाका पूर्व कार्यवाहक अध्यक्ष कृष्णप्रसाद शर्माले नेपाली सञ्चार क्षेत्रले हाल सामना गरिरहेको व्यावसायिक संकट र पेसागत सुरक्षाका चुनौतीबारे प्रकाश पार्नुभएको थियो।
अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत सरदराज अरनले प्रेस स्वतन्त्रतालाई सूचनाको हकका रूपमा मात्र नभई सुशासन र समृद्ध राष्ट्र निर्माणको मेरुदण्डका रूपमा व्याख्या गर्नुभयो। उहाँले जिम्मेवार पत्रकारिताले समाजमा पारदर्शिता कायम गर्दै राष्ट्रिय आत्मविश्वास बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो।
कार्यक्रममा नेपालको आन्तरिक मिडिया राजनीति र विशेषगरी बालेन शाह नेतृत्वको सरकारले निजी सञ्चारमाध्यमलाई दिइने सरकारी विज्ञापनमा लगाएको रोकले सिर्जना गरेको व्यावसायिक संकटबारे समेत सघन बहस भएको थियो। सहभागी पत्रकारहरूले आफ्ना पेसागत अनुभव र भोगाइ साझा गर्दै यस अन्तरक्रियाले नेपाली पत्रकारिताको अन्तर्राष्ट्रियकरण र प्रेस स्वतन्त्रताको संरक्षणमा नयाँ उत्साह र ऊर्जा थपेको निष्कर्ष निकालेका छन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.