Home » Blog » एमआरपी समस्या समाधान गर्न नयाँ निर्देशन, अब स्वघोषणाले पुग्ने

एमआरपी समस्या समाधान गर्न नयाँ निर्देशन, अब स्वघोषणाले पुग्ने

Ankushdaily
0 comment 152 views
विरगंज ।
आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने सरकारी व्यवस्थाका कारण भन्सार जाँचपासमा अवरोध सिर्जना भएपछि सरकारले त्यसलाई सहज बनाउन नयाँ कदम चालेको छ। अर्थ मन्त्रालय अन्तर्गतको भन्सार विभागले भन्सार जाँचपास र व्यापार सहजीकरणमा देखिएको जटिलता फुकाउन तत्कालका लागि प्रक्रियागत लचकता अपनाउने निर्णय गरेको हो। विभागले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गर्दै व्यापारिक अवरोध हटाउन नयाँ सहजीकरणको व्यवस्था मिलाएको जानकारी दिएको छ।
विशेषगरी औद्योगिक कच्चा पदार्थ, मेसिनरी, औजार र फलफूल तथा तरकारीजस्ता शीघ्र नष्ट हुने (पेरिसेवल) वस्तुको आयातमा एमआरपी उल्लेख गर्नुपर्दा प्राविधिक समस्या देखिएको थियो। यसलाई सम्बोधन गर्न विभागले पैठारीकर्तालाई भन्सार विन्दुमै एमआरपीको ‘स्वघोषणा’ गर्न पाउने सुविधा दिएको छ। नयाँ व्यवस्थाअनुसार अब आयातकर्ताले भन्सारमा मूल्यको स्वघोषणा गरी सामान भित्र्याउन पाउनेछन् र बजारमा बिक्री वितरण गर्नुअघि अनिवार्य रूपमा लेबल लगाएर मात्र पठाउने सर्तमा जाँचपास गराउन सक्नेछन्।
यो निर्णयले हाललाई भन्सार नाकामा रोकिएका मालवाहक सवारीसाधनलाई ठूलो राहत दिएको छ भने आयात ठप्प हुने जोखिम तत्कालका लागि टरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को आर्थिक ऐनमार्फत एमआरपी सम्बन्धी विषयलाई थप स्पष्ट पार्ने तयारी भइरहेको विभागका निर्देशक भूपाल राज शाक्यद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.