Home » Blog » एउटा सुरक्षा निकायलाई समस्या पर्दा अर्कोलाई पनि दु:ख लाग्नुपर्छ: डिआईजी ढकाल

एउटा सुरक्षा निकायलाई समस्या पर्दा अर्कोलाई पनि दु:ख लाग्नुपर्छ: डिआईजी ढकाल

Ankushdaily
0 comment 8 views
वीरगञ्ज ।
सशस्त्र प्रहरी बल १३ नम्बर गण हेडक्वार्टर, वीरगञ्जको १९औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी बल मधेश प्रदेशका प्रमुख डिआईजी कृष्ण ढकालले सुरक्षा निकायहरूबीच आपसी समन्वय र सहकार्यमा जोड दिएका छन्।
उनले नागरिकको जनधनको सुरक्षाका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाले फिल्डमा समन्वयात्मक रूपमा काम गर्नुपर्ने बताउँदै एउटा सुरक्षा निकायलाई पर्ने समस्यामा अर्को निकायले पनि ऐक्यबद्धता जनाउनुपर्ने धारणा राखे। फौजीको काँधमा हुने दर्ज्यानी चिह्नले जिम्मेवारीको बोध गराउने र छातीको तक्माले इमानदारीपूर्वक काम गर्न प्रेरित गर्ने कुरालाई सदैव स्मरण गर्न उनले फौजलाई निर्देशन दिए।
विगतका निर्वाचनहरू शान्तिपूर्ण रूपमा सम्पन्न गर्न गणले खेलेको भूमिका र पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वको उनले प्रशंसा गरे। यसैगरी, सीमापारिबाट हुने सय रुपैयाँको खरिदमा पनि कर लगाउने सरकारी नीतिबारे बोल्दै ढकालले यो राज्यको निर्णय भएकाले कार्यान्वयन गर्नु आफूहरूको दायित्व भएको प्रस्ट पारे। यद्यपि, अप्रत्यक्ष रूपमा उक्त निर्णयको अव्यावहारिकताप्रति सङ्केत गर्दै उनले यस विषयमा माथिल्लो निकायसँग निरन्तर छलफल भइरहेको जानकारी दिए। व्यावहारिक समाधान खोज्न सञ्चारमाध्यमलाई सत्यतथ्य उजागर गर्न र उद्योगी–व्यवसायीलाई प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण गराउन उनले आग्रह गरे।
१३ नम्बर गणका गणपति मोहन क्षेत्रीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दाहालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। स्थापना दिवसको अवसरमा अमर प्रहरीका आश्रित परिवार, कार्यक्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने प्रहरी अधिकृत तथा जवान र सेवानिवृत्त कर्मचारीहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो भने सशस्त्र प्रहरी कर्मचारीहरूले विविध सांस्कृतिक प्रस्तुतिसमेत राखेका थिए।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.