Home » Blog » नेपालको पैसाले भारतमा रजगज, ऋण र अवैध धन्दाको जालोमा बालाजी इन्टरप्राइजेज

नेपालको पैसाले भारतमा रजगज, ऋण र अवैध धन्दाको जालोमा बालाजी इन्टरप्राइजेज

Ankushdaily
0 comments 352 views

वीरगन्ज ।

केही प्रभावशाली व्यापारिक समूहहरू यतिबेला सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राज्यका अन्य निकायको कडा निगरानीमा परेका छन्। बालेन्द्र साह नेतृत्वको वर्तमान सरकारले अवैध सम्पत्ति, तस्करी सञ्जाल र शंकास्पद वित्तीय कारोबारविरुद्ध अनुसन्धान तीव्र बनाएपछि वैधानिक व्यापारको आवरणमा भइरहेका अवैध गतिविधिहरू सतहमा आउन थालेका हुन्। यसै क्रममा भारतको बिहारस्थित हरसिधी मूल घर भई हाल वीरगन्जमा बसोबास गर्ने मुकेश अग्रवाल र उनको पारिवारिक सञ्जाल अनुसन्धानको घेरामा तानिएको छ। उनीहरूमाथि वैधानिक संरचनाको प्रयोग गर्दै तेस्रो मुलुकबाट वस्तु आयात गरी भारततर्फ अवैध पुनः निकासी गर्ने सञ्जाल सञ्चालन गरेको गम्भीर आशंका गरिएको छ।

अग्रवाल परिवारद्वारा सञ्चालित ‘बालाजी इन्टरप्राइजेज प्रा.लि.’ र ‘नुभा हाईटेक फिड इन्डस्ट्रिज प्रा.लि.’ मार्फत पोस्तादाना, सुपारी, मरिच, लसुन, ओखर जस्ता वस्तुहरू नेपालका विभिन्न नाकामार्फत भारतका दिल्ली, गुजरात, राजस्थान र चेन्नईसम्म अवैध रूपमा पठाउने गरिएको दाबी स्रोतको छ।

श्रीमती बबिता कुमारी सिस्काको स्वामित्वमा रहेको बालाजी इन्टरप्राइजेजमा मुकेश प्रबन्ध निर्देशक र नीतिन अग्रवाल प्रमुख कार्यकारी अधिकृत छन् भने अर्का छोरा सन्नी अग्रवालले दिल्लीबाट व्यापारिक सञ्जाल सम्हाल्दै आएका छन्। बाहिरबाट हेर्दा यो समूहको कारोबार विशाल देखिए पनि यसको भित्री वित्तीय अवस्था भने अत्यन्त कमजोर, जोखिमपूर्ण र गम्भीर प्रश्नले घेरिएको छ।

इक्रा नेपालको पछिल्लो प्रतिवेदनले यस कम्पनीको वित्तीय विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ। आर्थिक वर्ष २०२५ मा कम्पनीले करिब ४ अर्ब २५ करोड रुपैयाँको कारोबार देखाए पनि सञ्चालन मुनाफा मार्जिन जम्मा २.९ प्रतिशत मात्र छ। कुल ऋण सञ्चालन नाफाभन्दा ६.७ गुणा बढी हुनुका साथै बैंकहरूबाट प्राप्त कर्जा सीमाको १०७ प्रतिशतसम्म उपयोग गरेको पाइएको छ। यसलाई बैंकिङ अनुशासनको गम्भीर उल्लंघन र चरम तरलता संकटको संकेत मानिएको छ। यसका अतिरिक्त, कुल राजस्वको करिब ४२ प्रतिशत हिस्सा जम्मा २० ग्राहकमा निर्भर हुनु, अधिकांश कारोबार असुरक्षित प्रकृतिका हुनु र कार्यगत पुँजीको तीव्रता १८ प्रतिशतबाट बढेर २२ प्रतिशत पुग्नुले कम्पनीको नगद प्रवाह संकट झन् गहिरिँदै गएको प्रस्ट हुन्छ।

विगतमा राजस्व अनुसन्धान विभागले यस समूहका केही कागजात नियन्त्रणमा लिएर अनुसन्धान थालेको भए पनि हालसम्म कुनै ठोस कानुनी निष्कर्ष बाहिर आएको छैन। यसैबीच, बिहार पूर्णियाको गुलाबबाग र दिल्लीको रोहिणीमा फल्याट र अस्वाभाविक रूपमा जग्गाजमिन जोडेको चर्चा समेत चलेको छ । पछिल्ला वित्तीय तथ्याङ्क, अस्वाभाविक ऋण निर्भरता र शंकास्पद सीमापार कारोबारले बैंकिङ प्रणाली र समग्र अर्थतन्त्रमै गम्भीर क्षति पुर्‍याउन सक्ने जोखिम बढाएको छ। स्रोतका अनुसार सिटिजन बैंकसँग कारोबार भइरहँदा कर्जाको विषयलाई लिएर विवाद बढेपछि मुकेशले अब सिटिजन छोडेर नबिल बैंक आएका छन् र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँग पनि कुरा मिलाएर काम गरिरहेको बताइन्छ।

तसर्थ, राज्यका अनुसन्धान निकायहरूले राजनीतिक वा आर्थिक प्रभावबाट मुक्त भई यस समूहको सम्पत्ति स्रोत, कर संरचना र सम्भावित सम्पत्ति शुद्धीकरणका गतिविधिमाथि निष्पक्ष, पारदर्शी र गहिरो अनुसन्धान गर्न अपरिहार्य देखिएको छ।

सम्बन्धित पोस्टहरू