Home » Blog » माइन्युट र आर्थिक विवरण बुझाउन पत्रकार महासंघ पर्साका निवर्तमान अध्यक्ष तिवारीलाई ३ दिने अल्टिमेटम

माइन्युट र आर्थिक विवरण बुझाउन पत्रकार महासंघ पर्साका निवर्तमान अध्यक्ष तिवारीलाई ३ दिने अल्टिमेटम

Ankushdaily
0 comments 61 views
विरगंज ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाले निवर्तमान कार्यसमितिलाई संस्थाको आधिकारिक माइन्युट र आर्थिक हरहिसाब लगायतका सम्पूर्ण आवश्यक कागजात बुझाउन ३ दिने अल्टिमेटम दिएको छ। शाखाका सचिव विजयकुमार महतोद्वारा निवर्तमान अध्यक्ष अनुप तिवारीलाई प्रेषित पत्रमा विगतको कार्यसमितिले प्रशासनिक तथा आर्थिक दस्तावेजहरू उपलब्ध नगराउँदा महासंघको दैनिक कार्यसञ्चालन र सदस्यता शुद्धीकरणको प्रक्रियामा गम्भीर अवरोध पुगेको उल्लेख गरिएको छ।
पर्सा शाखाका अनुसार निवर्तमान अध्यक्ष तिवारीकै संयोजकत्वमा गठित सदस्यता शुद्धीकरण संघर्ष समितिले बुझाएको ज्ञापनपत्रमा विगतको कार्यकालमा वितरण गरिएको सदस्यताको प्रक्रिया र संख्याबारे प्रश्न उठाइएको थियो। सोही तथ्य यकिन गरी शुद्धीकरणको प्रक्रियालाई थप अगाडि बढाउन वर्तमान कार्यसमितिलाई तत्कालीन समितिको माइन्युट आवश्यक परेको हो। तर, तिवारी नेतृत्वको तत्कालीन कार्यसमितिले हालसम्म जिल्ला समितिको कुनै पनि विवरण र आधिकारिक दस्तावेज बुझाउन नसकेको महासंघले जनाएको छ।
यसैगरी पत्रमा संस्थाको आर्थिक पारदर्शितामाथि समेत गम्भीर प्रश्न उठाइएको छ। वर्तमान कार्यसमितिको २०८१ पुस ३ गते बसेको पहिलो बैठकले तत्कालीन कोषाध्यक्ष सञ्जीव कुमार मिश्रलाई ३० दिनभित्र संस्थाको सम्पूर्ण चलअचल सम्पत्तिको विवरण र हरहिसाब पेस गर्ने जिम्मेवारी दिएको थियो। तर, उक्त निर्णय भएको ५९८ दिन व्यतीत भइसक्दा समेत आर्थिक विवरण प्राप्त हुन नसकेको र तत्कालीन जिम्मेवार पदाधिकारीहरूलाई पटक-पटक आग्रह गर्दा पनि कागजात बुझाउन आलटाल भइरहेको पत्रमा उल्लेख छ।
विगतका संस्थागत निर्णय र कागजातको अभावमा महासंघले कार्यसञ्चालनमा समस्या भोग्नुपरेकाले आगामी ३ दिनभित्र सम्पूर्ण विवरण शाखा कार्यालयमा बुझाउन चेतावनी दिइएको छ। तोकिएको समयसीमा भित्र कागजात उपलब्ध नगराए शाखाको नियमावली अनुसार कानुनी एवं प्रक्रियागत रूपमा अगाडि बढ्ने महासंघले स्पष्ट पारेको छ।

सम्बन्धित पोस्टहरू