Home » Blog » हरि खेतान क्याम्पसमाथि ‘शिक्षा माफिया’को नजर !

हरि खेतान क्याम्पसमाथि ‘शिक्षा माफिया’को नजर !

क्याम्पस समुदायकै सम्पत्ति हो: क्याम्पस प्रमुख यादव

Ankushdaily
0 comments 184 views
वीरगञ्ज।
हरि खेतान बहुमुखी क्याम्पस समुदायको हो, सामुदायिक क्याम्पस नै रहन्छ। विद्यार्थी भर्नाका बेला विभिन्न प्रकारका बखेडा झिकेर निजी क्षेत्रका कलेज सञ्चालकहरूको इशारामा हरि खेतान कलेजलाई सुनियोजित तरिकाले बदनाम गराउने षड्यन्त्र रचिने गरेको सो क्याम्पसका प्रमुख किशोरी राय यादवले आरोप लगाउनुभएको छ।
नागरिक समाजको अगुवाइमा हरि खेतान क्याम्पसलाई समुदायको क्याम्पस बनाउनु पर्छ भन्दै आज शनिबार जिल्ला समन्वय समिति पर्सामा बैठक बसेको थियो र सरोकारवाला सबैले चिन्ता जाहेर गरेका थिए। पूर्व सांसद विचारी यादव, हरि खेतान क्याम्पसका पूर्व प्रमुख डा. भगवान यादव, बार एसोसिएसनका अध्यक्ष रामनारायण कुर्मी, जसपा पर्साका अध्यक्ष रामनरेश यादव, नेकपा एमालेका सुन्दर कुर्मी, सुशील भट्टराई लगायत गण्यमान्य व्यक्तिहरू बसेर चिन्ता जाहेर गरेको बेला क्याम्पस प्रमुख किशोरी यादवको सो भनाइ आएको छ।
तीन दशकभन्दा बढी यो क्याम्पसको प्रमुख भई काम गरेका पूर्व क्याम्पस प्रमुख डा. भगवान यादवले आफ्नो कार्यकालभरि रजगज गरे, समुदायका कुनै विशिष्ट व्यक्तिलाई सञ्चालक समितिमा आउन दिएनन्। क्याम्पसलाई आफ्नो पटी–पट्टीदार, नातागोताका मानिसहरूको भर्ती केन्द्र बनाए। दाता परिवारलाई रिझाएर २०८०/६/१९ गते विधान संशोधन गरी अहिले जुन विधानअनुसार क्याम्पस चलिरहेको छ, त्यो भगवान सरकै पालामा जारी भएको बताउँदै सामाजिक सञ्जाल होस् वा अन्य कुनै पनि मिडिया प्लेटफर्म होस्, वा नागरिक समाजबीचमा आफू सार्वजनिक बहसका लागि तयार रहेको बताएका छन्।
यो क्याम्पस कुनै पनि हालतमा निजीकरण हुन नसक्ने भन्दै वर्तमान संरचनालाई पुनःसंरचना गर्न सकिने बताउँदै नागरिक समाजलाई आग्रह गर्दै, यो गरिब जनताका छोरा–छोरी पढ्ने क्याम्पसलाई शिक्षा माफियाको चंगुलमा फस्नबाट जोगाउनु सबैको कर्तव्य भएको क्याम्पस प्रमुख किशोरी यादवको कथन रहेको छ।
गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति दिँदा मलाई आलोचना गर्नेहरू कुन मुखले क्याम्पसविरुद्ध षड्यन्त्र रचेर हल्ला गर्छन्, यसको खोजनीति गर्नुपर्ने क्याम्पस सञ्चालक समितिका सदस्य प्रकाश खेतानको भनाइ रहेको छ। खेतानले क्याम्पसको शैक्षिक वातावरण बनाउन वीरगञ्जका आम नागरिकको कर्तव्य रहेको भन्दै नागरिक समाजका नाममा गरिने रचनात्मक कार्यमा आफ्नो र सम्पूर्ण सञ्चालक समितिको सहयोग रहने बताउँदै विगतमा भ्रष्टाचार र अनियमितताको आरोपमा परेकाहरूबाट नागरिक समाजले परहेज गर्नुपर्ने उनको भनाइ थियो।
हरि खेतान बहुमुखी क्याम्पसका प्रमुख किशोरी राय यादवलाई वैशाख ३१ गते कालोमोसो दलेको आरोपमा दिलीप पण्डित र देवलाल ठाकुर प्रहरी कार्यालयको हिरासतमा रहेका छन् भने अन्य आरोपीहरू रवीन्द्र यादव, विकी गुप्ता र लालकिशोर पटेल प्रहरीको फन्दामा नपरेको बताइन्छ।

सम्बन्धित पोस्टहरू