बिरगंज, २० बैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरीले पछिल्लो राजनीतिक घटनाक्रमबारे धारणा राख्दै सत्तारुढ दल नेकपा नफुट्ने ठोकुवा गरेका छन्। नेकपा भित्र राजनीतिक विचारको विवाद नभएको बताउँदै अहिले देखिएको विवाद केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको स्वार्थी झुण्डबीचको लडाई मात्रै भएको टिप्पणी गरे । जसले तत्कालिन एमाले र माओवादीलाई मिलाएका थिए उनीहरुले नै अहिले नेकपा फुट्न नदिने जिकिर पनि गरे ।
तत्कालिन संविधानसभा सदस्य अनिल रुंगटाको निवास विरगञ्जमा सामाजिक दूरी कायम गर्दै गरिएको छलफलमा सरकार र हामी आफै सचेत नहुने हो भने ठूलो संकट आउने पनि संकेत गरे । उनले संकटबाट जोगिनका लागि परम्परागत खानपिनमै जोड दिनु पर्ने र कृषि क्रान्तिको बाटो अंगिकार गर्न सुझाव दिए । अरुले सिफारिस गरेका भन्दा पनि नेपाली खानपिन नै विश्वमा उत्कृष्ट रहेको भन्दै यसले गर्दा पनि कोरोनाको महामारीविरुद्ध लड्ने ठूलो शक्ति नेपालीसँग रहेको उल्लेख गरे ।
यसबीचमा बामदेव गौतम प्रधानमन्त्री बन्ने चर्चाका विषयमा पनि नेता गिरीले गौतम अशिक्षित नेता भएकाले अहिलेको अवस्थमा जग हसाउने काम गरेको बताए । गौतमले कुरा नै नबुझी अहिले नै प्रधानमन्त्री बन्ने इच्छा व्यक्त गर्नु अशिक्षाकै कारण मात्रै रहेको बताए । संविधान अुनसार उनी कुनै पनि हालतमा प्रधानमन्त्री बन्ने अवस्था नरहेको बताउँदै गिरीले गौतम फेरि एक पटक नेकपामा पेण्डुलम भएको बताए ।
नेकपाभित्रको विवादलाई २०४८ सालको कांग्रेसको अवस्थासँग तुलना पनि गरेका थिए । त्यतिबेला गिरिजा प्रसाद, गणेशमान र किसुनजीको बीचमा हुने गरेको विवादलाई अहिले नेकपाले निरन्तरता दिएको र यसले मुलुक र जनतालाई फाइदा नपुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा केन्द्रीय सद्स्य अजय चौरसीया, पर्सा सभापति अजय दुवेधी, नेता जनार्दन सिंह क्षत्री, रामनारायण कुर्मी र क्षेत्रीय सभापति अरविन्द गुप्ताको सहभागीता थियो ।