Home » Blog » राजधानीमै मस्त रहने प्रवृत्ति त्याग्दै सांसद पन्तले वीरगञ्जमा सचिवालय खोले

राजधानीमै मस्त रहने प्रवृत्ति त्याग्दै सांसद पन्तले वीरगञ्जमा सचिवालय खोले

Ankushdaily
0 comment 32 views
वीरगन्ज ।
चुनाव जितेर गएपछि सांसदहरू राजधानीमै केन्द्रित हुने र जनताबाट टाढा हुने आम प्रवृत्तिलाई तोड्दै पर्सा क्षेत्र नम्बर १ का सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति हरि पन्तले वीरगन्जमा आफ्नो निजी सचिवालय सञ्चालनमा ल्याएका छन् । वीरगन्ज महानगरपालिकाको वडा नम्बर ८ मा स्थापना गरिएको उक्त सचिवालयको एक समारोहका बीच अगुवा नेताहरूको उपस्थितिमा सांसद पन्तले उद्घाटन गरेका हुन् ।
आफू संसदीय भूमिकाका लागि काठमाडौं वा जिल्लाबाहिर रहँदा पनि निर्वाचन क्षेत्रका नागरिकको गुनासो सुन्न र उनीहरूलाई आइपर्ने गाह्रोसाह्रोमा तत्काल सहयोग पुर्‍याउने उद्देश्यले सचिवालय सञ्चालन गरिएको उनले बताए । जनसेवालाई थप प्रभावकारी बनाउन सुदिश प्रजापतिको नेतृत्वमा १५ सदस्यीय सचिवालय टोली गठन गरिने भएको छ । केही दिनभित्रै टोलीलाई पूर्णता दिएर सम्बद्ध सबै पदाधिकारीको नाम र सम्पर्क नम्बर सर्वसाधारणको सहजताका लागि सार्वजनिक गरिने जानकारी सांसद पन्तले दिए ।
जनताले प्रत्यक्ष रूपमा परिवर्तनको अनुभूति गर्न सक्ने गरी सुशासन र सेवा प्रवाहमा ध्यान दिन जिल्लाका सबै सरकारी कार्यालयलाई निर्देशन दिइसकेको उनले स्पष्ट पारेका छन् । सरकारी सेवा लिने क्रममा कुनै पनि कार्यालयमा बिनाकारण ढिलासुस्ती र झन्झट खेप्नुपरेमा सचिवालयमार्फत सार्वजनिक हुने सम्पर्क नम्बरमा तत्काल जानकारी गराउन उनले आम नागरिकलाई आग्रह गरेका छन् ।
उद्घाटन समारोहमा रास्वपा पर्साकी उपसभापति तुल्सा पौडेल, सचिव सुदिश प्रजापति, कोषाध्यक्ष दिलीप कुर्मी, क्षेत्रीय सभापति राम आर्या, महानगर सभापति अमन आलम र सचिव गौतम श्रेष्ठसहितका पदाधिकारीहरूको उपस्थिति थियो । साथै, नेताहरू युवराज पटेल, विशाल कुमार, सुमित चौरसिया, राजु गुप्ता, दिनेश गुप्ता, राम लामा, त्रिनेश गिरी, पूर्ण सापकोटा, सम्साद आलम, शन्नी गुप्ता, रामेश्वर साह, आलोक मिश्र र सालिक पौडेललगायत १९ वटै वडाका निर्वाचन परिचालन समितिका प्रतिनिधि तथा शुभेच्छुकहरूको सहभागिता रहेको उक्त कार्यक्रमको सञ्चालन कृष्ण पासवानले गरेका थिए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.