Home » Blog » कांग्रेस माओवादीलाई सघाउने निर्णय गर्दै तमलोपाले खोज्यो लिखित प्रतिबद्धता

कांग्रेस माओवादीलाई सघाउने निर्णय गर्दै तमलोपाले खोज्यो लिखित प्रतिबद्धता

अंकुश दैनिक
0 comment 9 views

काठमाडौँ, ५ साउन – तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका संसदमा प्रस्तुत अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ।

बुधबार काठमाडौंस्थित केन्द्रीय कार्यालयमा बसेको तमलोपा संसदीय दलको बैठकले अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको अध्यक्ष महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गत ३१ गते संसद सचिवालयमा दर्ता गरेको अविश्वासको प्रस्ताव बिहीबार संसदमा प्रस्तुत हुँदैछ। तमलोपाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका ११ बुँदे मागबारे स्पष्ट मार्गचित्र सहित लिखित प्रतिबद्धता व्यक्त गर्न नेपाली कांग्रेस र माओवादी केन्द्रको ध्यानाकर्षण गराएको छ।

‘अविश्वास प्रस्तावका प्रमुख प्रस्तुतकर्ता नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा प्रस्तुत गरिएका ११ बुँदे माँगहरु तथा आन्दोलनको क्रममा शहादत प्राप्त गर्नेहरुलाई सहिद घोषणा, घाइतेको सम्पूर्ण उपचार, बन्दीहरुको निशर्त रिहाई तथा मुद्दा फिर्ता सम्बन्धमा अविलम्ब स्पष्ट मार्ग चित्र सहित लिखित प्रतिबद्धता व्यक्त गर्न यो बैठक गम्भीर ध्यानाकर्षण गराउँदछ’, अध्यक्ष महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सरकार गठनमा सहभागी हुने नहुनेबारेमा निर्णय लिन उसले कांग्रेस माओवादीसँग लिखित प्रतिबद्धता खोजेको संकेत गरेको छ। ‘तमलोपाले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा/संघीय गठबन्धनसँग सहकार्य गरी तत् पश्चात उपयुक्त निर्णय लिने व्याहोरा जानकारी गराउन चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.