Home » Blog » तीन पटक मन्त्री बनाउँदा पनि नपुगेर अब के अमेरिकाको राष्ट्रपति बन्न एमाले छिरेको ? : रामनरेश यादव

तीन पटक मन्त्री बनाउँदा पनि नपुगेर अब के अमेरिकाको राष्ट्रपति बन्न एमाले छिरेको ? : रामनरेश यादव

Ankushdaily
0 comment 82 views
वीरगन्ज ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका पर्सा जिल्ला अध्यक्ष एवं पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार रामनरेश यादवले पूर्वसहकर्मी प्रदिप यादवमाथि गम्भीर राजनीतिक र नैतिक प्रश्न उठाएका छन्।
चुनावी प्रचारप्रसारका क्रममा आयोजित एक सभालाई सम्बोधन गर्दै उनले मधेस आन्दोलनका क्रममा वीरगन्जको भूमिमा बगेको रगतको अपमान गर्दै प्रदिप यादव पद र शक्ति आर्जनका लागि नेकपा (एमाले) मा प्रवेश गरेको दाबी गरे। मधेसको मुद्दा र बलिदानीलाई लत्याएर केवल सांसद र मन्त्री बन्ने निहित स्वार्थका लागि प्रदिप यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीको शरण लिएको भन्दै उनले आलोचना गरे।
सम्बोधनका क्रममा नेता यादवले प्रदिप यादवमा मधेसवाद, समाजवादी चिन्तन र देशहितको कुनै चिन्ता नरहेको टिप्पणी गरे। हिजोका दिनमा मधेसी जनताको भावनासँग जोडिएका व्यक्ति आज सत्ताको लालचमा परेर व्यक्तिगत स्वार्थ सिद्ध गर्न लागिपरेको उनको आरोप थियो। वीरगन्जको माटो सहिदहरूको रगतले रातो भएको बेला त्यसको परवाह नगरी पदकै लागि पुरानो विचारधारा त्याग्नेहरूले अहिले कुन नैतिकताले जनतासँग भोट मागिरहेका छन् भन्दै उनले प्रश्न गरे। उनले अवसरवादी राजनीतिले मधेस र मधेसी जनताको कहिल्यै हित नगर्ने जिकिर समेत गरे।
प्रदिप यादवको राजनीतिक पृष्ठभूमि स्मरण गराउँदै नेता यादवले जसपा नेपालले नै उनलाई वि.सं. २०६५ सालमा राजनीतिमा स्थापित गराएको उल्लेख गरे। पार्टीले उनलाई पटक–पटक सांसद र तीन–तीन पटकसम्म मन्त्रीको जिम्मेवारी दिएर ठूलो गुन लगाएको दाबी गर्दै उनले आक्रोश पोखे। “पार्टीले उनलाई सबैथोक दियो, तीन पटकसम्म मन्त्री बनायो, अब के उनलाई अमेरिकाको राष्ट्रपति नै बनाइदिनुपर्ने हो ?” भन्दै यादवले व्यंग्य गरे।
व्यक्तिगत महत्त्वाकांक्षाका लागि पार्टी र सिद्धान्तलाई तिलाञ्जली दिने प्रवृत्तिलाई यसपटकको निर्वाचनमा जनताले उचित जवाफ दिने उनको विश्वास थियो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.