काठमाडौँ ।
स्व .मीन कुमारी राणा प्रतिष्ठानले विभिन्न क्षेत्रका तीन जनालाई सम्मान पुरस्कृत गरेको छ । स्व. राणाको दोस्रो पुण्य तिथिका अवसरमा बिहीबार राष्ट्रपति कार्यालयमा आयोजना गरिएको एक समारोहमा प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट वरिष्ठ पत्रकार किशोर नेपाललाई राष्ट्रिय पत्रकारिता पुरस्कार , पूर्व सांसद लेखनाथ न्यौपानेलाई प्रजातन्त्र सेनानी पुरस्कार र राष्ट्रिय बक्सिङ खेलाडी तथा प्रशिक्षक प्रकाश थापा मगरलाई राष्ट्रिय खेलकुद पुरस्कारबाट पुरस्कृत गरिएको हो ।
उनीहरूलाई नगद राशि जनही ५१ हजार सहित दोसल्ला र सम्मान पत्रबाट सम्मान गरिएको हो । त्यसै गरी भक्तपुर स्थित आदर्श माध्यमिक विद्यालयलाई गत वर्ष जस्तै यस वर्ष पनि प्रतिष्ठानको तर्फ बाट ५१ हजार छात्रवृत्ति प्रदान गरिएको थियो । समारोहमा प्रतिष्ठानका सल्लाहकारहरू प्रा डा ध्रुवचन्द्र गौतम , वरिष्ठ पत्रकार द्वय हरिहर विरही र माथवरसिंह बस्नेतलाई पनि सम्मान गरिएको थियो ।
प्रतिष्ठानका महासचिव रवि राणाले स्वागत मन्तव्य सहित कार्यक्रमबारे प्रकाश पारेका थिए । प्रतिष्ठानका संरक्षक समेत रहेका कोमल विक्रम राणा उपस्थित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष एवम् कार्यक्रममा सभापति कविर राणाले प्रतिष्ठानको स्थापना उद्देश्य र प्रजातन्त्र सेनानी समेत रहेकी आमाबारे बोल्दै आज राणा परिवार यो हैसियत र प्रतिष्ठान स्थापना गर्न सफल हुनुमा उनैको देन रहेको स्मरण गरे । उनले आमाको जन्म देखी वैवाहिक , पारिवारिक, हिरासतको यात्रा र राजनीतिक योगदानबारे पनि चर्चा गरे । उनले आमाकै प्रेरणाका कारण आफू र आफ्नो परिवार लोकतन्त्रका लागि निरन्तर लड्दै आएको बताए ।
संस्थाको सल्लाहकार र पुरस्कार सिफारिस समितिका सदस्य को तर्फबाट मन्तव्य व्यक्त गर्दै वरिष्ठ पत्रकार विरहीले स्वर्गीय मीनकुमारी राणा सामाजिक तथा आध्यात्मिक कार्यमा अभिरुचि राख्ने हक्की र निडर स्वभावकी भएको स्मरण गर्दै परोपकार र सेवाभाब उनको अर्को विशेषता रहेको चर्चा गरे । आमाकै प्रेरणा र दीक्षाबाट प्रतिकूल परिबेसमा पनि विचलित नभई सामाजिक , सांस्कृतिक तथा राजनीतिक क्षेत्रमा समर्पित भएर राणा परिवार लागेको विरहीले बताए । उनले पुरस्कृत त्रय अत्यन्त उत्तम पात्रहरू रहेको बताए ।