Home » Blog » अमेरिकाको नयाँ भन्सार नीतिले विश्व अर्थतन्त्रमा हलचल

अमेरिकाको नयाँ भन्सार नीतिले विश्व अर्थतन्त्रमा हलचल

Ankushdaily
0 comment 14 views
एजेन्सी।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालसम्मकै ठूलो भन्सार शुल्क शनिबारदेखि लागू गरेका छन्, जसले प्रतिशोधात्मक कारबाही, व्यापारिक तनाव तथा विश्व अर्थतन्त्रमा अस्थिरता निम्त्याउने खतरा बोकेको छ।
मेक्सिको र क्यानाडाबाट आउने सामग्रीबाहेक, अधिकांश अमेरिकी आयातमा १० प्रतिशतको ‘आधारभूत’ भन्सार शुल्क मध्यरातदेखि लागु भएको छ। यो कदम राष्ट्रपति ट्रम्पले देशको व्यापार घाटा कम गर्न आपतकालीन आर्थिक अधिकार प्रयोग गरी लिएका हुन्। ह्वाइट हाउसका अनुसार, पारस्परिकता अभाव र अत्यधिक मूल्यवृद्धि करहरू जस्ता कारणहरूले यी निर्णयहरूलाई प्रेरित गरेका हुन्।
युरोपेली संघ, जापान र चीनसहित झन्डै ६० देशहरू अब उच्च भन्सार शुल्कको तयारीमा छन्। ट्रम्पले चिनियाँ सामानहरूमा लगाएको ३४ प्रतिशत भन्सार शुल्कपछि, चीनले पनि अप्रिल १० देखि अमेरिकी वस्तुहरूमा समान दरको जवाफी कर लगाउने घोषणा गरिसकेको छ। साथै, बेइजिङले डब्लुटिओमा अमेरिका विरुद्ध मुद्दा हाल्ने र उच्च प्रविधिमा प्रयोग हुने दुर्लभ खनिजहरूको निर्यात रोक्ने चेतावनी दिएको छ।
अन्य व्यापारिक साझेदारहरू भने अझै प्रतिकारमा होसियारी अपनाइरहेका छन्। ट्रम्पले सामाजिक सञ्जालमा चीनलाई चेतावनी दिँदै ‘उनीहरूले यस्तो गर्न सक्दैनन्’ भनेका छन्।
बजारमा गिरावट
शुक्रबार वाल स्ट्रिटमा गिरावट आयो, जुन एसिया र युरोपका बजारहरूकै पतनको अनुकरण थियो। विश्लेषकहरूका अनुसार नयाँ भन्सार शुल्कहरूले आर्थिक वृद्धि कम गर्न सक्छ र मुद्रास्फीति बढाउने खतरा छ। ट्रम्पले भने आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा आफ्ना नीतिहरू परिवर्तन नहुने दाबी गरेका छन्।
हालको भन्सार शुल्कमा स्टिल, एलुमिनियम, अटोमोबाइल, तामा, औषधि, सेमिकन्डक्टर, काठ, ऊर्जा उत्पादन लगायत केही वस्तुहरूलाई अस्थायी छुट दिइएको छ। तर ट्रम्पले तामा र काठमा अनुसन्धान गर्न आदेश दिइसकेका छन्, जसको अर्थ थप कर आउन सक्छ। अन्य क्षेत्रहरू पनि प्रभावित हुनसक्ने संकेत दिएका छन्।
क्यानाडा र मेक्सिकोका सामानहरू भने नयाँ भन्सार शुल्कबाट प्रभावित भएका छैनन्, किनभने ती उत्तर अमेरिकी व्यापार सम्झौताभित्र पर्छन्।
प्रतिकारको सम्भावना
ट्रम्पले वार्ताका लागि समय दिए पनि छुट नपाएमा अन्य देशहरूबाट प्रतिकार आउन सक्ने अक्सफोर्ड इकोनोमिक्सले चेतावनी दिएको छ। इयु व्यापार प्रमुखले संयमित र एकीकृत तरिकाले प्रतिक्रिया दिने बताएका छन्, तर “हामी हात बाँधेर बस्दैनौँ” भन्दै कडा प्रतिक्रिया दिनसक्ने संकेत दिएका छन्।
फ्रान्स र जर्मनीले अमेरिकी प्रविधि कम्पनीहरूलाई कर लगाउने सक्ने भनेका छन्। जापानले पनि संयमित दृष्टिकोण अपनाउन आह्वान गरेको छ। भियतनामसँग ट्रम्पले अमेरिकी भन्सार दरको सन्दर्भमा सकारात्मक छलफल भएको बताएका छन्।
राष्ट्रपति पदमा पुनः फर्किएपछि ट्रम्पले क्यानाडा र मेक्सिकोबाट आउने आयातमा कर लगाएका छन् र चीनबाट आउने वस्तुहरूमा थप २० प्रतिशत भन्सार बढाएका छन्। यसले अप्रिल ९ सम्ममा चिनियाँ वस्तुहरूमा कुल ५४ प्रतिशत भन्सार दर पुर्‍याउनेछ।
अटोमोबाइलमा लागु भएको २५ प्रतिशत करले केही क्यानाडाली र मेक्सिकाली उत्पादन केन्द्रहरू बन्द गराइसकेको छ।
स्ट्रेटेजिक एन्ड इन्टरनेसनल स्टडिजका अनुसार, ट्रम्पको यो कदम १९३० को स्मुट–हेली ऐनपछि सबैभन्दा ठूलो भन्सार वृद्धिको रूपमा सम्झिने गरिनेछ, जसले विश्वव्यापी व्यापार युद्धको जोखिम निम्त्याउन सक्छ। अक्सफोर्ड इकोनोमिक्सका अनुसार, यसबाट औसत अमेरिकी कर दर २४ प्रतिशत पुग्नेछ, जुन १९३० को दशकको भन्दा पनि उच्च हो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.