Home » Blog » पाकिस्तानी हवाई आक्रमणमा तीन अफगान क्रिकेट खेलाडीको मृत्यु, एसीबीद्वारा त्रिदेशीय श्रृंखला बहिष्कार घोषणा

पाकिस्तानी हवाई आक्रमणमा तीन अफगान क्रिकेट खेलाडीको मृत्यु, एसीबीद्वारा त्रिदेशीय श्रृंखला बहिष्कार घोषणा

Ankushdaily
0 comment 16 views
काठमाडौं ।
पाकिस्तानको हवाई आक्रमणमा परी अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। उक्त घटनाप्रति अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले गहिरो शोक व्यक्त गर्दै पाकिस्तान सहभागी हुने आगामी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाबाट आफ्नो सहभागिता फिर्ता लिने घोषणा गरेको छ। शनिबार ‘एक्स’ (पूर्व ट्विटर) मार्फत जारी विज्ञप्तिमा एसीबीले पक्तिका प्रान्तको उरगुन जिल्लाका साहसी क्रिकेट खेलाडीहरूलाई पाकिस्तानी शासनले कायरतापूर्ण हवाई आक्रमण गरी निशाना बनाएको भन्दै यसप्रति गहिरो दुःख र आक्रोश व्यक्त गरेको छ।
एसीबीका अनुसार उरगुन जिल्लामा भएको उक्त आक्रमणमा खेलाडी कबीर, सिबगातुल्लाह र हारुनसहित आठ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। तीनै खेलाडी पक्तिका प्रान्तको राजधानी शरानामा मैत्रीपूर्ण क्रिकेट खेल खेलेर घर फर्किएपछि स्थानीय जमघटमा सहभागी भइरहेका बेला हवाई आक्रमणको निशाना बनेका थिए। एसीबीले यस घटनालाई अफगानिस्तानको खेल समुदायका लागि ठूलो क्षति रहेको बताउँदै शोकसन्तप्त परिवार र पक्तिका प्रान्तका जनताप्रति हार्दिक समवेदना प्रकट गरेको छ।
विज्ञप्तिमा उल्लेख गरिएको छ कि आगामी नोभेम्बरमा पाकिस्तान र श्रीलंकासँग आयोजना हुन लागिरहेको त्रिदेशीय टी–२० आई क्रिकेट श्रृंखलामा अफगानिस्तानले भाग नलिने निर्णय गरेको छ। बोर्डले यो कदम सहिद खेलाडीहरूप्रतिको श्रद्धाञ्जलि र सम्मानस्वरूप उठाइएको जनाएको छ। विज्ञप्तिको अन्त्यमा एसीबीले प्रार्थना गर्दै भनेको छ कि “अल्लाहले सहिदहरूलाई उच्च स्थान प्रदान गरून्, घाइतेहरू चाँडै स्वस्थ होऊन् र पीडित परिवारलाई यो कठिन समयमा धैर्य र शक्ति प्रदान गरून्।”
यसअघि शुक्रबार पाकिस्तानले अफगानिस्तानको दक्षिणपूर्वी पक्तिका प्रान्तमा हवाई आक्रमण गरेको थियो। टोलो न्युजका अनुसार ती आक्रमणहरू उरगुन र बर्मल जिल्लाका आवासीय क्षेत्रमा लक्षित थिए, जसमा उल्लेख्य संख्यामा नागरिक हताहत भएका छन्। यो आक्रमण अफगानिस्तान र पाकिस्तानबीच भएको ४८ घण्टे युद्धविरामको बीचमै भएको हो। पाकिस्तानले हालैको दोहा वार्ताबाट निष्कर्ष ननिस्किँदासम्म युद्धविरामको अवधि बढाउन आग्रह गरेको थियो। पाकिस्तानको परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै दुबै देशबीच ४८ घण्टे अस्थायी युद्धविराम लागू भएको र वार्ताबाट समस्याको समाधान खोज्ने प्रयास भइरहेको जनाएको थियो। तालिबान सरकारका प्रवक्ता जबिउल्लाह मुजाहिदले पनि एक्समा लेख्दै भनेका थिए कि “जबसम्म कुनै प्रकारको आक्रमण हुँदैन, युद्धविराम कायम रहनेछ।”

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.