426
(स्तम्भकार कुमार रुपाखेती)
लक्ष्य राख्नु र लक्ष्य विपरीत काम गर्नु बेईमानी हो । यस अर्थमा राजेशमानले वैभव वीरगंजसित बेईमानी गरेको प्रशस्त उदाहरण छन् । राजेशमानसँग कहाँबाट आउनु अर्जुनदृष्टि । स्विमिङ पूल, नगरसभागृह, वीरगंजका रंगशालाहरू, स्वरूप कुरूप बनाउँदै भाँचिएको वीरगंज, बाल मन्दिर, वीरगंजको डम्पिङ साइटमा परिणत ऐतिहासिक पोखरीहरू र यहाँका ऐतिहासिक पुरुषहरू वैभव वीरगंजको प्रमुख अंग हो कि होइनन् ? अवस्था के छ ? स्विमिङ पुलमा सधैं खडेरी लागेझैँ पानी हुँदैन, नाम पौडी पोखरी, जहाँ पानीको थोपा हुँदैन, सधैं सुखाड रहन्छ । पौडी पोखरीको नाम नै हँसाईएको छ । नगरसभागृह, जहाँ सांस्कृतिक तथा लोकल ऐतिहासिक कार्यक्रमको सट्टा सादी, विवाहको तडकभडक मात्र हुन्छ । नगरसभागृहको नेपाल झल्किने कलाकृतिहरू असहाय र आँसु बगाइरहेको आभास हुन्छ । त्यस्तै घर नक्सा पास छ, लालपुर्जा छ, तिरो तिरेको रसिद छ, थोरै म्याद दिएर वीरगंज मेनरोडका घरहरू भाँचेर लथालिङ्ग खसालिएको छ । मेनरोड निवासीको रोदन–क्रन्दनमा आँसु पुछ्ने कोही छैन । अस्ती चुनावअघि डफ्फाका डफ्फा नेताहरू भोट माग्न आउँथे । अहिले सबै गायब छन् र केहिले गोहीको आँसु बगाउँदैछन् । बालमन्दिरमा अहिले अनाथ होइन, सुकिला मुकिलाका छोरा–छोरीहरू ओहोरदोहोर गर्छन् । खै कहाँ छ वैभव वीरगंज ?
शहरका ऐतिहासिक र पुरातात्विक महत्वका पोखरीहरू डम्पिङ साइटमा परिणत भएका छन् । वीरगंजका थुप्रै ऐतिहासिक व्यक्तित्वहरू समेत लोपोन्मुख बनाइएका छन् । घण्टाघरमा रहेको प्रजातन्त्रिक योद्धा वीरगंजका प्रथम शहीद थिरवम मल्लको शालिक गायब भएको दशकौँ भयो । कुनै सोधखोज छैन । सरकारले वैभव वीरगंजलाई सहयोग गर्न भन्दै करोडौँको लगानीमा बनाएको पानी प्रशोधन केन्द्रलाई दूषित बनाउँदै माछा र बाख्रा पालन गरेर जगहँसाइ गरियो ।
गीत नै छ… “भत्काई दिन्छु, बाख्राको खोर पनि…” यस्ता कुरीतिहरु र वीरगंजलाई गिज्याउँदै शहरको विभिन्न भागहरूमा राजेशमानको भीमकाय तस्वीर सहितको होर्डिङ बोर्ड झुण्डाएर कस्को मान मर्दन गरेको हो ? राजेशमान मेयर भएपछि वीरगंजको वैभव खुइलिएको, अनि राजेशमानको वैभव बढेको छ । भारतमा एउटा नारा छ “सौ में से अस्सी बेईमान, फिर भी मेरा भारत महान” रे ।मधेस प्रदेशको एक मात्र महानगर वीरगंजको आर्थिक, प्रशासनिक कार्यमा रोक लाग्नु समेत वैभव वीरगंजकै निशानी हो कि धब्बा हो ? जो अगुवा उही बाटो हगुवा ।
एकताका राजेशमानले समेत वीरगंजमा डोजर आतंक मच्चाएकै हो । कर्मचारीले समयमा तलब नपाउनु, महानगरपालिकालाई उधारो दिनेले भुक्तानी नपाउनु आदि कहाँको वैभव हो । वैभव हो कि अवैध हो ? गैरजिम्मेवारीको पराकाष्ठा हो ।महानगरपालिकाको कारोबार रोक्कालाई स्वयं त्यहीँका कर्मचारीले “खाने पिउने रामे, चोट पाउने श्यामे” नामाकरण गरेका छन् । वीरगंजको विकासको औकात र वैभवता आउने वर्षातको मौसमले पोल खोल्नेवाला छ । वैभव वीरगंजमा अति सुविधा सम्पन्न मानिने मेनरोडमा धारा, पानी, विजुली, टेलिफोन, नेट, इन्टरनेट सबै अवरुद्ध छ । खै वैभव वीरगंज महानगरपालिका कहाँ कुम्भकर्ण निद्रामा छ । संक्षेपमा भन्ने हो भने वैभव वीरगंजका नायक, खलनायक भनिनेहरु आफ्नै कार्यालयको आन्तरिक किचलो, अन्तहिन समस्यामा अल्झिनाले वैभव वीरगंजवासीको तारणहार बन्न मेनरोडवासी आफै तम्सिन विवश छन् । सक्दो विरोध गर्दैछन । यही हो वैभव वीरगंज ।
वैभव वीरगंज नारामा सीमित छ, मेयरका तर्फबाट कुनै सिरकत देखिँदैन । त्यसैले म सरेआम कराएरै भन्छु— ‘वैभव वीरगंजसित राजेशमानले बेईमानी गरेका छन् । खै मेयरको दायित्व के हो ? एक झटका—गेम ओभर । वीरगंज र वैभव दुवैको ।
साभार:- अंकुश दैनिक पत्रिकाबाट