Home » Blog » लामो रस्साकस्सीपछि कांग्रेसमा सहमति: भीष्मराज आङ्देम्बे बन्दै संसदीय दलको नेता

लामो रस्साकस्सीपछि कांग्रेसमा सहमति: भीष्मराज आङ्देम्बे बन्दै संसदीय दलको नेता

Ankushdaily
0 comment 14 views
विरगंज ।
नेपाली कांग्रेसले पार्टीको संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बेलाई सर्वसम्मत रूपमा चयन गर्ने तयारी गरेको छ। अर्जुननरसिंह केसी र मोहन आचार्यलगायतका नेताहरूको दाबीका कारण लामो समयदेखि अनिर्णीत बनेको दलको नेता चयन प्रक्रिया अन्ततः सहमतिमा टुंगिएको हो। पूर्वसभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षको समेत बलियो समर्थन प्राप्त गरेपछि आङ्देम्बेको नाममा सर्वसम्मति जुटेको हो। दलको नेता चयनमा देखिएको गतिरोध अन्त्य गर्न उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा रहेको समिति, अर्का उपसभापति पुष्पा भुसाल तथा महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले आकांक्षी एवं शीर्ष नेताहरूसँग सघन छलफल गरेका थिए। आइतबार दिनभर सांसद तथा सम्बन्धित नेताहरूसँग गरिएको निरन्तर प्रयासपछि समितिलाई आङ्देम्बेको नाममा सहमति जुटाउन सफलता मिलेको हो।
सहमति जुटेसँगै उपसभापति शर्मा नेतृत्वको समितिले दलको नेताका रूपमा आङ्देम्बेको नाम अघि बढाउन पार्टी सभापति गगन थापालाई सिफारिस गरेको छ। प्राप्त सिफारिसका आधारमा सभापति थापाले उक्त प्रस्तावलाई आज दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पेस गर्ने कार्यक्रम रहेको छ। पार्टीको विधानअनुसार संसदीय दलको नेताको औपचारिक चयन सांसदहरूले नै गर्नुपर्ने व्यवस्था छ। तसर्थ, कार्यसम्पादन समितिको बैठकलगत्तै दिउँसो २ बजे बस्ने संसदीय दलको बैठकले आङ्देम्बेको नाममाथि छलफल गरी उनलाई नेताका रूपमा औपचारिक अनुमोदन गर्नेछ। प्रतिनिधिसभामा हाल कांग्रेसका ३८ जना सांसद रहेका छन् भने यो औपचारिक प्रक्रिया पूरा भएसँगै कांग्रेसले संसद्मा आफ्नो नयाँ दलको नेता पाउनेछ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.