Home » Blog » देशभर क्रियाशील सदस्यता फाराम पठाउँदै नेपाली कांग्रेस

देशभर क्रियाशील सदस्यता फाराम पठाउँदै नेपाली कांग्रेस

Ankushdaily
0 comment 6 views
काठमाडौँ ।
नेपाली काँग्रेसले देशका सबै क्षेत्रमा क्रियाशील सदस्यताको फाराम पठाउन सुरु गरेको छ। १५औँ महाधिवेशनको तयारीमा जुटेको काँग्रेसले क्षेत्रीय कार्यसमिति सभापतिमार्फत सबै वडा, गाउँपालिका, नगरपालिका र महानगरसम्म फाराम पठाउने प्रक्रिया अघि बढाएको हो।
काँग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले मङ्सिर १९ गतेसम्म सबै क्षेत्रमा फाराम पुर्‍याउने निर्णय गरेको छ। केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीका अनुसार नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरण दुवै कार्यलाई तीव्र रूपमा अघि बढाउने तयारी छ।
काँग्रेस महामन्त्री तथा समितिका संयोजक गगनकुमार थापाले १५औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म काठमाडौँमा हुने निर्णय भएसँगै तयारीका आधारभूत काममा थप गति दिइने जानकारी दिनुभयो। यसका लागि समितिले भ्रातृ तथा शुभेच्छुक संस्थासहितको बैठक शुक्रबार आह्वान गरेको छ, जसले क्रियाशील सदस्यता वितरण कार्यलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
काँग्रेस उम्मेदवारका मापदण्ड
नेपाली काँग्रेसले पार्टीका तर्फबाट उम्मेदवार सिफारिस सम्बन्धी परिपत्र मातहतका सबै कार्यसमितिहरूलाई पठाएको छ। केन्द्रीय कार्यसमितिको निर्णयअनुसार माघ ११ गतेका लागि तोकिएको राष्ट्रिय सभा सदस्य निर्वाचन र फागुन २१ गते निश्चित प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न निर्देशन गरिएको हो।
काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको परिपत्रमा पार्टी विधानअनुसार आवश्यक योग्यता पुगेका व्यक्तिमात्र सिफारिस गर्न भनिएको छ। परिपत्रमा जातीय विभेद, घरेलु हिंसा, बालश्रम तथा अन्य सामाजिक अपराध वा कुसंस्कारमा दोषी ठहर भइसकेका व्यक्तिहरू काँग्रेसको उम्मेदवार बन्न अयोग्य हुने स्पष्ट गरिएको छ।
यस्तै, २०७९ को निर्वाचनमा प्रतिनिधि सभा तथा प्रदेश सभामा समानुपातिकतर्फबाट निर्वाचित भएका व्यक्तिहरू फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य समानुपातिक मतदाता सूचीका उम्मेदवार हुन नपाउने उल्लेख छ। त्यसैगरी, प्रदेश सभा सदस्य २०७९ को समानुपातिक बन्दसूचीमा समावेश व्यक्तिहरूलाई २०८२ को प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिफारिस गर्न नपाइने प्रावधान राखिएको छ।
काँग्रेसले २०७९ को स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरू पनि यसपटक उम्मेदवारको सिफारिसमा समावेश नहुने जानकारी दिएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.