Home » Blog » पर्सा–२ मा सुशील कुमार कानु १८ हजारभन्दा बढी मतान्तरसहित विजयी

पर्सा–२ मा सुशील कुमार कानु १८ हजारभन्दा बढी मतान्तरसहित विजयी

Ankushdaily
0 comments 13 views
वीरगन्ज । मधेस प्रदेशको आर्थिक राजधानी वीरगन्जस्थित पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक जित हासिल गरेको छ। मतगणनाको अन्तिम परिणामअनुसार रास्वपाका उम्मेदवार सुशील कुमार कानुले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई १८ हजारभन्दा बढीको फराकिलो मतान्तरले पराजित गर्दै शानदार विजय प्राप्त गरेका हुन्। सुरुवाती चरणदेखि नै अग्रता लिइरहेका कानुले प्रतिद्वन्द्वीहरूलाई निकै पछाडि छाड्दै जितको झन्डा गाडेका हुन्।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार, विजयी उम्मेदवार कानुले ३० हजार ७२२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार रिमा यादवले ११ हजार ७५१ मत प्राप्त गर्दा अजयकुमार चौरसिया ११ हजार ४९६ मतका साथ तेस्रो स्थानमा समेटिएका छन्। यस क्षेत्रमा कुल ९५ हजार १२० मतदाता रहेकोमा ६६ हजार ५७ मत खसेको थियो। निर्वाचन अधिकृत मधुसुदन आचार्यले दिएको जानकारी अनुसार कानुले प्राप्त गरेको यो मत खसेको कुल मतको झन्डै आधा हिस्सा हो, जसले यस क्षेत्रमा रास्वपाप्रतिको जनलहर कति बलियो छ भन्ने पुष्टि गर्दछ।
पर्सामा रास्वपाको यो लगातार दोस्रो ठूलो जित हो। यसअघि पर्सा क्षेत्र नम्बर १ मा पनि रास्वपाकै हरि पन्त १४ हजारभन्दा बढी मतान्तरसहित विजयी भइसकेका छन्। जिल्लाका दुई महत्वपूर्ण निर्वाचन क्षेत्रमा प्राप्त यो सफलताले मधेसको राजनीतिमा नयाँ समीकरण र वैकल्पिक शक्तिको उदयलाई थप मजबुत बनाएको छ। 

सम्बन्धित पोस्टहरू