Home » Blog » जेनजी पुस्ताको भावना विपरित श्रीमान् श्रीमतीदेखि वृद्ध नेतासम्मलाई कांग्रेसको टिकट सिफारिस

जेनजी पुस्ताको भावना विपरित श्रीमान् श्रीमतीदेखि वृद्ध नेतासम्मलाई कांग्रेसको टिकट सिफारिस

Ankushdaily
0 comment 44 views
काठमाडौँ ।
नेपाली कांग्रेस काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ ले आगामी फागुन २१ गते हुने आम निर्वाचनका लागि जेन–जी पुस्ताको भावना र पार्टी केन्द्रीय समितिको परिपत्र विपरीत वृद्ध नेतादेखि पति–पत्नीसमेतको नाम सिफारिस गरेको छ। क्षेत्रीय समितिले ८० वर्ष नाघिसकेका ध्यानगोविन्द रन्जित र दामोदर गौतमलाई राष्ट्रियसभा निर्वाचनका लागि सिफारिस गरेको छ भने संघीय प्रत्यक्ष तथा समानुपातिक निर्वाचन प्रणालीका लागि १५ जनाको नाम काठमाडौँ जिल्ला समितिमा पठाएको छ।
पार्टी केन्द्रीय समितिले प्रत्येक निर्वाचन क्षेत्रबाट बढीमा तीन जनाको नाम सिफारिस गर्न निर्देशन दिए पनि क्षेत्र ९ का केन्द्रीय सदस्य तथा प्रभावशाली नेताहरूको दबाबमा परेर उक्त परिपत्र उल्लंघन गरिएको क्षेत्रीय समितिका एक सदस्यले बताए। उनका अनुसार केन्द्रीय सदस्य ध्यानगोविन्द रन्जित, नानु बास्तोलालगायतका नेताहरूको दबाबमा क्षेत्रीय समितिले केन्द्रको निर्देशनलाई बेवास्ता गरेको हो।
क्षेत्रीय समिति सभापति जयकृष्ण महर्जनले तीन पटकसम्म बैठक बोलाई सीमित संख्यामा सहमति जुटाउने प्रयास गरे पनि सहमति नजुटेपछि अन्ततः वृद्ध नेता, पति–पत्नीसमेतको नाम सिफारिस गर्न बाध्य हुनुपरेको बताइएको छ। पार्टीभित्र पटक–पटक अवसर पाइसकेका तथा क्षेत्रमा अलोकप्रिय रहेका नेताहरूले विभिन्न माध्यममार्फत टिकटका लागि दबाब दिएको आरोप पनि स्थानीय नेताहरूले लगाएका छन्।
यसैबीच, अहिलेसम्म कुनै पनि तहको निर्वाचनमा अवसर नपाएका क्षेत्रीय सभापति जयकृष्ण महर्जनलाई युवा पुस्ताको रोजाइ भन्दै क्षेत्रीय समितिका २६ सदस्यले संघीय प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ उम्मेदवारका रूपमा सिफारिस गरेको एक सदस्यले जानकारी दिए।
सिफारिस सूचीमा ८१ वर्ष पार गरिसकेका र पटक–पटक अवसर पाएका ध्यानगोविन्द रन्जित, २०५१ सालमा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका दामोदर गौतम, पटक–पटक टिकट पाएका श्यामकृष्ण खड्का तथा उनकी पत्नी कल्याणी खड्का पनि परेका छन्। कल्याणी खड्काले यसअघि दुई पटक उपमेयरको टिकट पाइसकेकी हुँदा खड्का परिवारप्रति अन्य स्थानीय नेताहरू असन्तुष्ट देखिएका छन्। यसपटक पनि कल्याणी खड्काले समानुपातिकतर्फ दाबी गरेकी छन् भने श्यामकृष्ण खड्काले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ नाम सिफारिस गराएका छन्।
त्यस्तै, स्थायी घर हात्तीगौंडा भई हाल स्युचाटार बसोबास गर्दै आएका क्षेत्रीय प्रतिनिधि राजन खत्रीले पनि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ नाम सिफारिस गराउन सफल भएका छन्। केन्द्रीय सदस्य नानु बास्तोला, महाधिवेशन प्रतिनिधि श्यामकृष्ण खड्का र धर्मराज गौतम यसअघि नै नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्यको टिकट पाइसकेका व्यक्ति हुन्।
यसअघि सम्पन्न आम निर्वाचनमा प्रदेशसभा (क) बाट नानु बास्तोला तथा प्रदेशसभा (ख) बाट श्यामकृष्ण खड्का उम्मेदवार भई पराजित भएका थिए भने २०७० सालको निर्वाचनमा महासमिति सदस्य धर्मराज गौतम पनि पराजित भइसकेका छन्।
समानुपातिक निर्वाचन प्रणालीतर्फ भने किरण गिरी, गौरीप्रसाद दवाडी, सुधा रिजाल, डा. अमिता प्रधान, दिलमाया अधिकारी, गोमा गुरुङ र कल्याणी खड्काको नाम सिफारिस गरिएको छ।
पार्टी केन्द्रीय समितिको स्पष्ट निर्देशन हुँदाहुँदै पनि अधिकांश केन्द्रीय सदस्य र पदाधिकारीको प्रभाव रहेको निर्वाचन क्षेत्रमा दर्जनौं नाम सिफारिस हुनु पार्टीभित्रै असन्तोष र पुस्तान्तरणसम्बन्धी बहसलाई थप चर्काउने संकेतका रूपमा हेरिएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.