Home » Blog » कालो पानी कि कालापानी ?

कालो पानी कि कालापानी ?

Ankushdaily
0 comment 25 views
(स्तम्भकार कुमार रुपाखेती)
उहिले उहिले बदमास कर्मचारीलाई तह लगाउन कालापानी सरुवा गरिन्थ्यो । कालापानी सरुवा हुने डरले कर्मचारीहरू भ्रष्टाचार गर्न डराउँथे । त्यतिवेला चितवन जिल्लालाई समेत कालापानी क्षेत्र भनिन्थ्यो । उतिखेर चितवनमा कालाजार, मलेरिया, लामखुट्टेको खानी नै थियो । लामखुट्टेले फैलाउने जापानीज इन्सेफलाइटिस रोगका बिरामी अहिले पनि चितवनमा बढी भेटिन्छन् ।
अब हेर्नुस् न, राम्रो काम गरेको, भ्रष्टाचार शुन्य पालिका बनाएको भन्दै विभिन्न पालिकाका मेयरहरूलाई सम्मान, कदर र पुरस्कृत गरेको सुनिन्छ। वीरगन्ज महानगरको अवस्था यसको ठीक उल्टो छ । सिर्सियालाई प्रदूषणमुक्त गर्छौ भन्ने नाटककारहरुलाई अस्ती वीरगन्जका जेनजी युवाहरूले सिर्सियाको प्रदूषित कालो र दूषित पानी कार्यालय पुगेर टेबुल–टेबुलमा उपहार दिएछन् ।

वीरगन्ज महानगरपालिकाले केही समयअघि ढ्वाङ फुकेर सफा सिर्सियाको बिडा उठाएको, सक्रिय भएको हल्ली खल्ली गर्‍यो । वीरगन्जका मेयरले त यस्तो माकाफुई देखाए कि केही दिनमै सिर्सियामा निर्मल, सफा पानी कलकल बग्छ भन्ने सपना देखाए । तर यसको ठिक विपरीत अस्ती कात्तिकमा कालोपानी, दूषित पानी देखेर सिर्सियामा छठ पर्व मनाउनेहरू हर्किए । सिर्सियामा ऐतिहासिक तराईकै ठूलो पर्व गर्न कतराए ।
सिर्सिया क्षेत्र अहिले वीरगन्जकै कालापानीमा परिणत भएको छ । जमानामा किसानहरूले गाईवस्तुलाई सिर्सियाको पानी पिउन दिन्थे । सिर्सियामा मान्छेले स्नान गर्थे । गाई भैंसी, घोडा मात्र होइन आइमाई, केटाकेटीहरू समेत नुहाइ–धुवाइ गर्थे । धार्मिक काममा सिर्सियाको पानी प्रयोग हुन्थ्यो ।
त्यही सिर्सियामा अहिले जनावर त के, लुगा धुने धोबी पनि जाँदैन । सिर्सियाको यस्तो दुर्गति गर्न उद्योग र उद्योगपति नै हुन् । न वीरगन्ज उद्योग वाणिज्य संघले यसको सुधारमा तदारुकता देखाएको छ, न महानगरपालिकाले मन, वचन र कर्मले लागेको छ ।
बेला–बेला सचेत नागरिकहरूले सिर्सिया बचाउने अभियान चलाउँछन् अनि कुर्सीमा विराजमान महामहिमहरू अन्धो,बहिरो, लोभी, पापी बन्छन् । अभियन्ताहरू थाक्छन् । नेपालमा उद्योगपतिहरूले जे चाहे गराउन सक्छन् भन्ने ताजा उदाहरण नै सिर्सिया हो ।
व्यापारिक सहर वीरगन्जको बीचबाट बग्ने सिर्सियाको किनारा छेउछाउमा बारा, पर्सामा थुप्रै उद्योगधन्धा छन् । उद्योगको प्रदूषित पानी बगाउन पायक र सजिलो पर्ने आकलन गरेरै सिर्सिया किनार छेउछाउ उद्योग, कारखाना बदनियत राखेरै स्थापना गरिएको हो । सिर्सिया बचाउ अभियानवालाहरू काठमाडौंसम्म पुगे तर उद्योगपतिहरूले यहाँबाटै आफ्नो पावर देखाइदिए । सिर्सियाको अवस्था त अहिले “काग कराउँदै छ, पिना सुक्दैछ” जस्तै छ । सिर्सियाको कालो पानी बोकेर लालफीताशाही सरकारी अफिसरको कार्यालय धाउने जेनजीहरूको अवस्था समेत “एक्लो बृहस्पति झुठो” साबित गरिदिन्छ ।
कतिपय घटनाहरूमा उद्योग वाणिज्य संघवालाहरू उद्योगीकै साथ हुन्छन्, चाहे अनुचित नै किन नहोस् । यहाँ सिर्सियाको मामलामा समेत वीरगन्ज उद्योग वाणिज्य संघ उदासीन देखिन्छ । वीरगन्जमा त उद्योगधन्धा, उद्योगी र उद्योग वाणिज्यको एकता जिन्दाबाद भनिन्छ ।
लक्ष्मीपुत्र उद्योगीहरू मालपानीतिर ध्यान दिन्छन् अनि सरस्वतीपुत्रहरु पढेलेखेर, जानेबुझेका कुरामा सुधार चाहन्छन् । वीरगन्जमा लक्ष्मीपुत्रहरू र सरस्वतीपुत्रहरूबीच सिर्सिया नदी लाई लिएर एक न एक दिन घमासान हुने देखिन्छ ।
जहाँसम्म महानगरपालिकाको कुरा छ, महानगरको व्यवहार त “जो अगुवा उही बाटो हगुवा” जस्तै छ। यस अघिका सरावगी भन्ने मेयरले त सहरको ढल नै सिर्सियामा बगाउँथे, जसलाई राजेशमानले समेत निरन्तरता दिएका छन् ।
हामी महानगरमा बस्छौं अनि महानगरस्तरीय भेजा पनि नेतृत्वमा हुनु पर्‍यो नि ? सबैलाई थाहै छ सरावगी व्यापारी, उद्योगी पृष्ठभूमिका मान्छे हुन्, राजनीति गर्ने चस्का लागेको छ । लेनदेनसहित त्यतिखेर उपेन्द्रको जसपाबाट टिकट पाए । काकताली परेर राजेशमान झैं चिठ्ठामा मेयर पद पर्‍यो ।
सरावगीजस्तो व्यापारी, राजेशमानजस्तो छेपारे चंखे नेताहरू, अनि व्यापारी उद्योगीहरूको हित रक्षार्थ खोलिएको उद्योग वाणिज्य संघहरूको बोलबोला भएको बिगडलगंज वीरगन्जमा सिर्सिया कालो पानी, कालापानी, फोहर बग्ने नालिको सट्टा गंगा–जमुना कसरी बन्ला ?
यहाँका नेता, उद्योगी, व्यापारी, मेयरहरूलाई सिर्सियाको होइन, आ–आफ्नो पेसाको माया छ । सिर्सियाको बदनसीबी हो यो । हेरौं, जेनजीहरूको प्रयास कामयाब होस् भन्ने कामना छ।
सिर्सियाको उदगम स्थल बाराको रामवन जानु भएको छैन भने जानुस् । उदगम स्थलमा मिनरल वाटर जस्तो पानी निस्कन्छ, जुन बारा हुदै पर्सा पुग्दा उद्योगीहरूले विषाक्त, जहरीला बनाइदिन्छन् । सिर्सिया पनि गंगा–जमुना नै हो । मर्दा अन्तिम बेलामा गंगाजल पिलाइन्छ । गंगाजल (सिर्सिया) लाई पीडित बनाउनेहरूलाई मेरो यही सन्देश छ “भगवान के घरमे देर है, अन्धेर नहीं” ।
जेनजीहरू पहिला रामवनबाट निर्मल सफा सिर्सियाको पानी ल्याउनुस् अनि वीरगन्जमा जहरीला कालापानी अर्को बोतलमा भर्नुस् । महानगरभरि पानीको भिन्नता देखाउनुस् । जनता पनि जाग्लान् नि । जनहितको कुरा गर्दा सीमित स्वार्थवालाबीच एकता भइहाल्छ । यस्तै छ यहाँको चलन ।
पुनश्चः— रात्रि बजारको नाममा मेयर राजेशमानले आदर्शनगर क्षेत्रमा मूल बाटोबाट गाडी,सवारी प्रवेश निषेध गरेको, फुटपाथ, सडक पेटीमा रात्रि बजारको नाममा व्यापार, ठेला, खोम्चा, मःम पसल खोल्न दिएको, बीच सडकमा सेल्फी स्पट बनाई ढिठपना देखाएको भरखरकै घटना हो । खोई रात्रि बजार किन हावाकाया भयो बिलायो । त्यसैले त “तुम करो … तो जायज हम करे… तो नाजायज” भन्दै व्यापारीहरू सडक, फुटपाथमा खुट्टा पसारेर आसीन छन् । रात्रि बजारले व्यापार होइन असुविधा र असुरक्षा बढाएको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.