Home » Blog » वीरगञ्ज महानगरलाई अदालतको झड्का: छपकैया बजार क्षेत्रको निर्माण कार्य रोक्न आदेश

वीरगञ्ज महानगरलाई अदालतको झड्का: छपकैया बजार क्षेत्रको निर्माण कार्य रोक्न आदेश

Ankushdaily
0 comment 652 views
वीरगञ्ज ।
पर्सा जिल्ला अदालतले वीरगञ्ज महानगरपालिका–२ छपकैयास्थित विवादित जग्गामा भइरहेका सम्पूर्ण निर्माण कार्य तत्काल रोक्न अन्तरकालीन आदेश जारी गरेको छ। माननीय जिल्ला न्यायाधीश मोहन सुवेदीको इजलासले कित्ता नम्बर ९७ र ११७ को जग्गामा कुनै पनि नयाँ संरचना निर्माण नगर्न र नगराउन विपक्षी वीरगञ्ज महानगरपालिकाको कार्यालय समेतका नाममा उक्त आदेश दिएको हो।
मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५६ को अधिकार प्रयोग गर्दै अदालतले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म जग्गाको अवस्थालाई यथास्थितिमा राख्न निर्देशन दिएको छ। भूमि सुधार तथा मालपोत कार्यालय, पर्साले गत २०८१ असोज १६ गते उक्त जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरेको थियो। सो निर्णयविरुद्ध जग्गाधनी ताराचन्द केडियाले अदालतमा पुनरावेदन दर्ता गराएका थिए। पुनरावेदन विचाराधीन रहेकै अवस्थामा महानगरले निर्माण कार्य अघि बढाएपछि अदालतले यस्तो कडा कदम चालेको हो।
यो विवाद देशकै प्रतिष्ठित व्यापारिक घराना केडिया समूहको पैतृक सम्पत्तिसँग जोडिएको छ। आफ्ना पिता बृजलाल केडियाको नामबाट नामसारी भई आएको जग्गा जोगाउन यो परिवार वर्षौँदेखि कानुनी लडाइँमा छ। यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्राधिकार मिचेर जग्गा दर्ता खारेज गर्ने आदेश दिए पनि सर्वोच्च अदालतले २०७९ साउन २६ गते उक्त निर्णय बदर गरिदिएको थियो। सर्वोच्चले प्रमाणका आधारमा जग्गाधनीको हक कायम गर्न मालपोतलाई परमादेश दिएको भए तापनि मालपोत कार्यालयले पुनः सो जग्गा सरकारकै नाममा गर्ने विवादास्पद निर्णय गरेपछि प्रकरण पुनः बल्झिएको हो।

पर्सा जिल्ला अदालतले बिरगंज महानगरपालिकाको नाउँमा जारी गरेको अन्तरकालिन आदेशको पत्र ।

मालपोतको पछिल्लो निर्णय लगत्तै वीरगञ्ज महानगरपालिकाले उक्त जग्गामा बजार विस्तार गर्ने उद्देश्यले निर्माण कार्य सुरु गरेको थियो। सोही क्रममा महानगरले गत मङ्सिर २१ गते ‘छपकैया तरकारी तथा फलफूल थोक बजार’ सञ्चालनमा ल्याएको छ । विगतका नेतृत्वले स्वामित्व विवादकै कारण संरचना निर्माणमा सावधानी अपनाए पनि वर्तमान नेतृत्वले निर्माणलाई तीव्रता दिएपछि निवेदक केडिया पुनः कानुनी उपचारका लागि अदालत पुगेका हुन्।
उच्च अदालत जनकपुरको आदेश र प्रचलित कानुनी मर्मलाई आत्मसात् गर्दै जिल्ला अदालतले हालको निर्माण कार्यमा रोक लगाएको हो। निवेदक केडियाले आफ्नो पुर्ख्यौली जग्गामा सरकारी निकायबाट अनावश्यक हस्तक्षेप भएको गुनासो गर्दै जनताको करबाट खर्च भइरहेको आयोजनामा अदालतको अन्तिम फैसला नआउन्जेल धैर्य गर्नुपर्ने बताउँदै आएका छन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.