Home » Blog » प्रतिनिधिसभा निर्वाचन : पर्साका ४ निर्वाचन क्षेत्रमा १०९ जनाको मनोनयन दर्ता

प्रतिनिधिसभा निर्वाचन : पर्साका ४ निर्वाचन क्षेत्रमा १०९ जनाको मनोनयन दर्ता

Ankushdaily
0 comment 16 views
वीरगञ्ज ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता प्रक्रिया उत्साहजनक रूपमा सम्पन्न भएको छ।
मुख्य निर्वाचन कार्यालयका अनुसार जिल्लाका चार सिटका लागि कुल १०९ जनाले चुनावी मैदानमा उत्रिने निर्णय गरेका छन्। निर्वाचन क्षेत्र नम्बर १ मा ३०, क्षेत्र नम्बर २ मा ३२, क्षेत्र नम्बर ३ मा २३ र क्षेत्र नम्बर ४ मा २४ जनाको मनोनयन दर्ता भएसँगै जिल्लाभर राजनीतिक चहलपहल र चर्चा बढेको छ।
यसपटकको निर्वाचनमा पुराना र स्थापित दलदेखि नयाँ शक्ति र स्वतन्त्र उम्मेदवारहरूको बाक्लो उपस्थिति देखिएको छ। क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका अनिलकुमार रुंगटा, एमालेका प्रदीप यादव, जसपाका रामनरेश यादव र रास्वपाका हरि पन्तबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। त्यस्तै, सबैभन्दा धेरै उम्मेदवार रहेको क्षेत्र नम्बर २ मा पूर्वमन्त्री अजयकुमार चौरसिया, एमालेकी रिमा यादव र जसपाका अशोक टेमानी लगायतका नेताहरू चुनावी मैदानमा उत्रिएका छन्।
ग्रामीण भेग समेटिएका क्षेत्र नम्बर ३ र ४ मा पनि ‘हेभीवेट’ नेताहरूबीचको भिडन्त रोचक हुने निश्चित छ। क्षेत्र नम्बर ३ मा कांग्रेसका सुरेन्द्रप्रसाद चौधरी, एमालेका रुपेश पाण्डे र जसपाका कमोद निरालाबीच कडा प्रतिस्पर्धाको आकलन गरिएको छ। यता क्षेत्र नम्बर ४ मा कांग्रेसका पूर्वमन्त्री रमेश रिजाल, एमालेका जालिम मियाँ अन्सारी र रास्वपाका टेकबहादुर शाक्य लगायतका उम्मेदवारहरूले चुनावी दौड सुरु गरिसकेका छन्। प्रमुख दलका प्रभावशाली अनुहार र स्वतन्त्र उम्मेदवारहरूको बढ्दो संख्याले यसपटक पर्साको चुनावी परिणाम निकै चुनौतीपूर्ण र रोचक हुने देखिएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.