Home » Blog » कार्यसम्पादन मूल्यांकनमा विराटनगर सर्वोत्कृष्ट बन्दा वीरगञ्ज पुछारबाट दोस्रो

कार्यसम्पादन मूल्यांकनमा विराटनगर सर्वोत्कृष्ट बन्दा वीरगञ्ज पुछारबाट दोस्रो

Ankushdaily
0 comment 34 views
विरगञ्ज ।
प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकन प्रतिवेदनअनुसार देशका छ महानगरपालिकामध्ये वीरगञ्ज महानगरपालिका पाँचौँ स्थानमा परेको छ भने संघीय राजधानी काठमाडौं महानगरपालिका सबैभन्दा कमजोर देखिएको छ।
आयोगले आर्थिक वर्षको कार्यसम्पादनका आधारमा तयार पारेको नतिजामा वीरगञ्जले ५४ अंक प्राप्त गर्दै मध्यम श्रेणीमा रहेर पाँचौँ स्थानमा चित्त बुझाउनुपरेको हो। समयमै बजेट पेश तथा पारित गर्ने प्रक्रिया, आय–व्यय व्यवस्थापन, राजस्व संकलनको अवस्था, वित्तीय अनुशासन, प्रशासनिक पारदर्शिता लगायत १७ वटा सूचकका आधारमा गरिएको मूल्यांकनमा वीरगञ्ज अन्य चार महानगरपालिकाभन्दा पछाडि र काठमाडौंभन्दा मात्र अगाडि देखिएको छ।
तुलनात्मक रूपमा हेर्दा विराटनगर महानगरपालिकाले ७८.११ अंकसहित उत्कृष्ट स्थान हासिल गरेको छ। त्यसैगरी ललितपुर महानगरपालिका ७६.३३ अंकसहित दोस्रो र भरतपुर महानगरपालिका ६८.०४ अंकसाथ तेस्रो स्थानमा छन्। पर्यटकीय नगरी पोखरा ५८.७६ अंकसहित चौथो स्थानमा रहँदा काठमाडौं महानगरपालिका ४४.९७ अंक मात्र प्राप्त गरी सबैभन्दा कमजोर प्रदर्शन गर्ने महानगरका रूपमा पुछारमा परेको छ।
आयोगले सार्वजनिक गरेको यो नतिजा केवल प्रतिष्ठाको विषय मात्र नभई आगामी आर्थिक वर्षको बजेटसँग पनि प्रत्यक्ष रूपमा जोडिएको छ। आयोगका अनुसार यही कार्यसम्पादन मूल्यांकनको आधारमा संघीय सरकारबाट महानगरपालिकाहरूलाई उपलब्ध गराइने समानीकरण तथा प्रोत्साहन अनुदानको परिमाण निर्धारण हुनेछ।
त्यसैले उच्च अंक प्राप्त गर्ने महानगरपालिकाहरूले बढी अनुदान पाउने निश्चित देखिन्छ भने कमजोर कार्यसम्पादन देखिएका वीरगञ्ज र काठमाडौं जस्ता महानगरपालिकाहरूको आगामी बजेट तथा अनुदानमा संकुचन आउन सक्ने सम्भावना रहेको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.