Home » Blog » नेपाल–भारत सम्बन्ध सुदृढीकरणमा मिडियाको भूमिका अपरिहार्य

नेपाल–भारत सम्बन्ध सुदृढीकरणमा मिडियाको भूमिका अपरिहार्य

Ankushdaily
0 comments 32 views

वीरगञ्ज ।

नेपाल र भारतबीचको सदियौं पुरानो र बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउन सञ्चार क्षेत्रले जिम्मेवार र रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। पर्साको वीरगञ्जस्थित टाउनहलमा शुक्रबार अंकुश मिडिया प्रा.लि. द्वारा आयोजित ‘नेपाल–भारत सम्बन्धमा मिडियाको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्ने वक्ताहरूले यस्तो धारणा राखेका हुन्।

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले दुई देशबीचको सामाजिक, सांस्कृतिक र कूटनीतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन मर्यादित पत्रकारिताको आवश्यकता औंल्याउनुभयो । उहाँले सीमावर्ती क्षेत्रका साझा समस्या समाधानमा मिडियाको खबरदारी महत्वपूर्ण हुने बताउनुभयो।

अंकुश मिडियाका अध्यक्ष दिपेन्द्र चौहानको अध्यक्षतामा सम्पन्न सो गोष्ठीमा सीमावर्ती क्षेत्रमा समाचार संकलनका क्रममा पत्रकारहरूले भोग्नुपरेका सुरक्षा चुनौती र दुई देशका सञ्चार माध्यमबीचको सहकार्यबारे गहन विमर्श गरिएको थियो। कार्यक्रममा बोल्दै विभिन्न सञ्चारकर्मीहरूले भ्रामक सूचना र अपुष्ट समाचारले दुई राष्ट्रको सम्बन्धमा अनावश्यक तिक्तता ल्याउन सक्ने भन्दै सचेत गराएका थिए। उनीहरूले जस्तोसुकै परिस्थितिमा पनि तथ्यपरक र सन्तुलित सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिए।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष वरिष्ठ हरिहर विरही र नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले मिडियाले दुई देशका जनताबीचको सम्बन्धलाई जोड्ने ‘सेतु’ (पुल) को काम गर्नुपर्ने विचार व्यक्त गर्नुभयो। त्यस्तै, इन्डिया मिडिया जर्नलिस्ट युनियनका राष्ट्रिय अध्यक्ष बाला भाष्कर र चम्पारन प्रेस क्लबका ज्ञानेश्वर गौतमले सीमा क्षेत्रका मुद्दाहरूलाई उठान गर्न दुवै देशका पत्रकारहरूबीच निरन्तर संवाद र साझा संयन्त्र आवश्यक रहेको औंल्याउनुभयो।

संविधान सभा सदस्य अजय कुमार द्विवेदी, आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्का, पत्रकार महासंघका केन्द्रीय सदस्य शिकेन्द्र पासवान, मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा र भुमि आयोग पर्साका अध्यक्ष तबरेज अहमद र पत्रकार महासंघ पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश खनालले खुला सिमानाका कारण सिर्जना हुने संवेदनशील विषयमा रिपोर्टिङ गर्दा पेसागत मर्यादा र राष्ट्रिय हितलाई केन्द्रमा राख्नुपर्ने धारणा राख्नुभयो।

विचार गोष्ठीको मुख्य आकर्षण दुई देशका पत्रकारहरूबीचको भाइचारा आदान–प्रदान रहेको थियो। सो अवसरमा भारतका विभिन्न प्रान्तबाट सहभागी करिब २० जनाभन्दा बढी भारतीय पत्रकारहरूलाई विशेष सम्मान गरिएको थियो। सभापति दिपेन्द्र चौहान र प्रमुख अतिथि मन्त्री पटेलले भारतीय अतिथिहरूलाई नेपालको राष्ट्रिय पहिचान झल्किने ‘ढाका टोपी’ र ‘मायाको चिनो’ प्रदान गरी सम्मान गर्नुभएको थियो।

सम्बन्धित पोस्टहरू