Home » Blog » मधेश सरकारबाट जनमतले लियो समर्थन फिर्ता

मधेश सरकारबाट जनमतले लियो समर्थन फिर्ता

Ankushdaily
0 comments 2 views
काठमाडौँ- जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको हो।
‘नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गठन भएको मधेश प्रदेश सरकारलाई जनमत पार्टीले दिएको समर्थन मिति २०८३/०१/२२ गतेबाट फिर्ता लिइएको व्यहोराको पत्र प्राप्त हुन आएकोले जानकारीको लागि अनुरोध छ,’ प्रदेश प्रमुख कार्यालयका शाखा अधिकृत कृष्ण ठाकुरले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
जनमत पार्टीका प्रमुख सचेतक रहेका चन्दनकुमार सिंहले सोमबार राति सरकारलाई समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुख कार्यालयमा बुझाएका थिए।प्रदेश सरकारमा अर्थमन्त्री समेत रहेका जनमत संसदीय दलका नेता महेशप्रसाद यादवले त्यसको भोलिपल्ट (मंगलबार) सरकारलाई समर्थन कायमै रहेको पत्र प्रदेश प्रमुख कार्यालयमा पठाएका थिए।
संसदीय दलको नेता वा प्रमुख सचेतकले पठाएको पत्र मान्य हुने विषयमा प्रदेश प्रमुख कार्यालय कानुनी परामर्शमा रहेकै बेला जनमत पार्टीले संसदीय दलको नेता फेरेको थियो। मंगलबार बिहानै जनमत पार्टीका १२ मध्ये ९ प्रदेश सांसदहरूको बैठकले प्रमुख सचेतक सिंहलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको थियो। सिंहको अध्यक्षतामा बसेको बैठकमा अनिताकुमारी साह, सकिल आँस, हसिना खातुन, त्रिभुवन साह, रञ्जु खंग, भाग्यश्री कुमारी चौधरी, संजयकुमार यादव र शम्भुकुमार साह उपस्थित थिए।
जनमत पार्टीले सिंहलाई संसदीय दलको नेता चयन गरेसँगै प्रदेश प्रमुख कार्यालयले सरकारबाट समर्थन फिर्ता लिएको जानकारी गराएको हो। नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादव १९ मंसिरमा मुख्यमन्त्री नियुक्त भएका थिए। प्रदेशसभामा प्रतिनिधित्व गर्ने ६ दलको समर्थनमा संविधानको धारा १६८ (२) बमोजिम उनी मुख्यमन्त्री बनेका थिए।उनलाई मुख्यमन्त्री नियुक्त गर्न कांग्रेससहित जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीका ७७ प्रदेश सांसदले समर्थन गरेका थिए।

सम्बन्धित पोस्टहरू