Home » Blog » धारिलो हतियार प्रहारबाट आमा–छोराको हत्या, दुई गम्भीर घाइते

धारिलो हतियार प्रहारबाट आमा–छोराको हत्या, दुई गम्भीर घाइते

Ankushdaily
0 comment 29 views
वीरगञ्ज ।
बारा जिल्लाको परवानीपुर गाउँपालिका–१, रहरियाडीमा एकै परिवारका दुई सदस्यको निर्मम हत्या भएको छ।
बुधबार बिहान करिब ३ बजे अज्ञात समूहले धारिलो हतियार प्रहार गर्दा ४६ वर्षीया आमा सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको घटनास्थलमै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) विजयराज पण्डितका अनुसार आक्रमणमा परी परिवारका अन्य दुई सदस्य गम्भीर घाइते भएका छन्। घाइते हुनेहरूमा ५० वर्षीय घरमुली जगरूप मण्डल र २२ वर्षीया छोरी रिना कुमारी रहेका छन्।
घाइते बाबु र छोरीको अवस्था गम्भीर रहेको र उनीहरूको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनाको प्रकृति हेर्दा रिसइबीका कारण हत्या भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि, हत्याको स्पष्ट कारण र संलग्न व्यक्तिहरूको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ। ‘हत्या कसले र किन गरेको हो भन्ने विषयमा सूक्ष्म अनुसन्धान भइरहेको छ,’ डिएसपी पण्डितले बताए।
यस घटनाले रहरियाडी क्षेत्रमा त्रास फैलिएको छ। प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिई सुरक्षा सतर्कता बढाएको छ भने तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरी दोषीको खोजी कार्य तीव्र बनाएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.