Home » Blog » आफ्नै ‘गढ’ नगवामा लखेटिए पूर्वमन्त्री प्रदीप यादव

आफ्नै ‘गढ’ नगवामा लखेटिए पूर्वमन्त्री प्रदीप यादव

Ankushdaily
0 comment 487 views

वीरगन्ज ।

वीरगन्जको मुटु मानिने नगवा, जसलाई प्रदीप यादवको राजनीतिक ‘किल्ला’ र अभेद्य गढ मानिन्थ्यो, शनिबार त्यही किल्ला भत्किएको संकेत मिलेको छ।

मधेस आन्दोलनको रापताप र त्यहाँका ऐतिहासिक पोखरीको साक्षी राखेर जसले प्रदीप यादवलाई सडकबाट उठाएर पटक–पटक सिंहदरबारको कुर्सीमा पुर्‍याए, आज तिनै मतदाता र माटोले उनलाई अस्वीकार मात्र गरेनन्, लखेटेरै आफ्नो आक्रोश पोखेका छन्। दुई–दुई पटक सांसद र तीन पटक मन्त्री बन्दा समेत आफ्नो आधार क्षेत्रको विकासलाई बेवास्ता गरी सत्ताको अंकगणितमा मात्र रमेको आरोप खेप्दै आएका यादवका लागि आफ्नै आँगन अब बिरानो र असुरक्षित बन्न पुगेको छ। विकासको अपेक्षा गरेका स्थानीयले पटक–पटकको आश्वासन र धोकाको बदला ‘ब्यालेट’ भन्दा अघि नै सडकमा उतार्न थालेका छन्।

पछिल्लो समय सत्ता र शक्तिको आडमा मध्यरातमा एमाले प्रवेश गरेर मधेसी भावनामाथि कुठाराघात गरेको भन्दै रुष्ट बनेका मतदाताको धैर्यताको बाँध शनिबार टुट्न पुग्यो। मधेस आन्दोलनको ‘लिगेसी’ भजाएर राजनीति गरेका यादवले मनोनयनको ठीक अघि जस्तो दलबदलु चरित्र देखाए, त्यसले एकातिर मधेसवादी पुराना मतदातालाई चिढ्याएको छ भने अर्कोतिर एमालेका इमान्दार कार्यकर्तालाई समेत सशंकित बनाएको छ। शनिबार आफ्नै पुरानो प्रभाव क्षेत्र नगवा–१६ मा एमालेको कार्यक्रम लिएर पुग्दा माहोल एकाएक तनावपूर्ण बन्यो। विगतमा फुलमालाले स्वागत गर्ने हातहरू यसपटक मुट्ठी कसेर विरोधमा उत्रिए, र त्यो भिडको नेतृत्व पुरानाले होइन, नयाँ सचेत ‘जेनजी’ पुस्ताले गरेको थियो।

“केही काम नगर्ने झोले नेता मुर्दावाद” भन्दै युवाहरूको हुल आक्रामक रूपमा प्रस्तुत भएपछि मन्त्री यादवको सुरक्षा घेरा नै तोडिने अवस्था सिर्जना भयो। कुनै समय “हाम्रो नेता” भनिने यादवलाई आफ्नै टोलका युवाहरूले लखेट्न थालेपछि उनलाई जोगाउन र सुरक्षित स्थानमा पुर्‍याउन स्थानीय प्रहरीलाई हम्मे–हम्मे परेको दृश्यले वीरगन्जको राजनीतिमा नयाँ तरंग ल्याएको छ। यो घटना केवल एउटा विरोध प्रदर्शन मात्र थिएन; यो वर्षौंदेखि आश्वासन बाँडेर सत्तामा पुग्ने तर गाउँ नफर्कने प्रवृत्तिविरुद्धको सशक्त विद्रोह थियो।

आफ्नै सुरक्षित मानिने आधार क्षेत्रमै यसरी लखेटिनुले प्रदीप यादवको आगामी चुनावी यात्रा निकै पेचिलो र चुनौतीपूर्ण बन्ने निश्चित प्रायः देखिएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.