Home » Blog » समन्वयविनै कार्यक्रम सञ्चालनप्रति पत्रकार महासंघ मधेशका आठै जिल्लाको गम्भीर आपत्ति

समन्वयविनै कार्यक्रम सञ्चालनप्रति पत्रकार महासंघ मधेशका आठै जिल्लाको गम्भीर आपत्ति

Ankushdaily
0 comment 5 views

विरगंज ।

नेपाल पत्रकार महासंघ मधेश प्रदेशका आठवटै जिल्ला शाखाहरूले प्रदेशको आम सञ्चार प्राधिकरणले सरोकारवाला निकायसँग समन्वय नगरी स्वेच्छाचारी ढंगले कार्यक्रमहरू सञ्चालन गरेको भन्दै गम्भीर आपत्ति जनाएका छन्। एक संयुक्त विज्ञप्ति जारी गर्दै शाखाहरूले प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयअन्तर्गत रहेको प्राधिकरणको गैरजिम्मेवार र असंवेदनशील कार्यशैलीको कडा विरोध गरेका हुन्। सञ्चारकर्मीको क्षमता अभिवृद्धिका नाममा सञ्चालन हुने कार्यक्रममा प्राधिकरणले देखाएको समन्वयको अभावले महासंघको गरिमा र भूमिकामाथि नै गम्भीर प्रश्न खडा गरेको उनीहरूको ठहर छ।

विशेषगरी वैशाख १५ गतेदेखि महोत्तरीको बर्दिबासमा सञ्चालन हुन लागेको स्थानीय तहका लागि प्रशिक्षक तयार पार्ने तीन दिने आवासीय तालिममा प्राधिकरणले महासंघलाई पूर्ण रूपमा बेवास्ता गरेको विज्ञप्तिमा उल्लेख छ। सुरुमा चैत १७ गते पत्राचार गरी महासंघका आठै जिल्ला शाखाबाट पाँच/पाँच जनाको नामावली मागिए पनि पछि महासंघसँग कुनै सार्थक छलफल नै नगरी चैत २५ गते छुट्टै सूचनामार्फत आवेदन आह्वान गरिनु संस्थागत समन्वयको मर्मविपरीत भएको उनीहरूले बताएका छन्। यसअघि सञ्चालन गरिएका एआईसम्बन्धी तालिमहरूमा समेत स्थानीय पत्रकारको वास्तविक आवश्यकतालाई बेवास्ता गरिएको भन्दै महासंघले चिन्ता व्यक्त गरेको छ।

प्राधिकरणका यस्ता मनपरी गतिविधिहरू तत्काल सच्याउन आग्रह गर्दै आगामी दिनमा कार्यक्रमको योजना र कार्यान्वयन गर्दा महासंघका शाखाहरूसँग अनिवार्य रूपमा प्रभावकारी समन्वय गर्न माग गरिएको छ। साथै, प्रदेश सरकारद्वारा विनियोजित बजेटको पारदर्शिता र प्रभावकारिता सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ। सरोकारवाला पक्षको सम्मान, सहभागिता र सहकार्यबिना सञ्चार क्षेत्रको दिगो विकास सम्भव नहुने चेतावनीसहित नेपाल पत्रकार महासंघ सिरहा शाखाका मनोज बनैता, धनुषा शाखाका पुरन साह, सर्लाही शाखाका ओमप्रकाश ठाकुर, रौतहट शाखाका सञ्जय कार्की, महोत्तरी शाखाका महेशकुमार दास, बारा शाखाका रमेश सुवेदी, सप्तरी शाखाका श्रवण देव र पर्सा शाखाका ओमप्रकाश खनालले संयुक्त रूपमा उक्त विज्ञप्ति जारी गरेका हुन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.