Home » Blog » नेपालको निर्वाचन प्रभावित पार्ने षड्यन्त्र विफल, रक्सौलबाट २५ लाख नक्कली नेपाली रुपैयाँसहित १० जना पक्राउ

नेपालको निर्वाचन प्रभावित पार्ने षड्यन्त्र विफल, रक्सौलबाट २५ लाख नक्कली नेपाली रुपैयाँसहित १० जना पक्राउ

Ankushdaily
0 comment 187 views
विरगंज ।
नेपालमा आसन्न निर्वाचनको सरगर्मी बढिरहेका बेला सीमावर्ती भारतीय बजार रक्सौलमा प्रहरीले नक्कली नोटको ठूलो र्‍याकेटको पर्दाफास गर्दै नेपालको अर्थतन्त्र र निर्वाचनलाई प्रभावित पार्ने गम्भीर षड्यन्त्र विफल पारेको छ।
बिहार–नेपाल सीमामा अवस्थित रक्सौलको हरैया थाना प्रहरीले विशेष अपरेसन सञ्चालन गर्दै २५ लाख नक्कली नेपाली रुपैयाँ र १८ हजार ५ सय नक्कली भारतीय रुपैयाँसहित १० जना अभियुक्तलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूको साथबाट १ लाख ४० हजार सक्कली नेपाली रुपैयाँसमेत बरामद गरिएको छ।
यसैगरी, प्रहरीले तीन वटा मोटरसाइकल, एउटा चारपांग्रे सवारी साधन तथा नक्कली नोट छाप्न प्रयोग हुने कागज, केमिकललगायत संवेदनशील सामग्रीहरू पनि जफत गरेको छ। यसले उक्त गिरोह लामो समयदेखि संगठित रूपमा सक्रिय रहेको संकेत गर्दछ।
घटनाको गम्भीरता स्पष्ट पार्दै रक्सौलका डीएसपी मनीष आनन्दले पत्रकार सम्मेलनमार्फत नेपालमा जारी निर्वाचन प्रक्रियामा मतदातालाई प्रलोभनमा पार्न यी नक्कली नोट प्रयोग हुने सम्भावना नकार्न नसकिने बताएका छन्।
प्रारम्भिक अनुसन्धानअनुसार, रक्सौलमा १८ हजार ५ सय नक्कली भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेपछि उनीहरूको बयानका आधारमा अनुसन्धान सीतामढी जिल्लाको मेजरगंजसम्म पुगेको थियो। सोही स्थानमा नक्कली नोट छाप्ने कारखाना सञ्चालन भइरहेको र त्यहीँबाट सम्पूर्ण र्‍याकेट परिचालन भइरहेको रहस्य खुलेको प्रहरीले जनाएको छ।
भारतीय वित्त मन्त्रीको बजेट भाषणमार्फत आम नागरिकलाई राहत दिने प्रयास भइरहेको समयमा सीमा क्षेत्रमा भएको यस कारबाहीले आपराधिक गिरोहहरूको मनोबलमा गम्भीर धक्का पुगेको बताइएको छ।
नेपालको निर्वाचनको मुखैमा यति ठूलो परिमाणमा नक्कली नेपाली रुपैयाँ बरामद हुनुले सीमा सुरक्षा र नेपाल–भारतबीचको आपसी सहकार्यको महत्वलाई पुनः पुष्टि गरेको छ। डीएसपी आनन्दका अनुसार, यस सफल कारबाहीले दुवै देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने ‘कोसेढुङ्गा’ सावित हुने विश्वास गरिएको छ।
सीमापारिबाट हुने आर्थिक चलखेल र आपराधिक गतिविधि नियन्त्रणमा भारतीय प्रहरीको सक्रियताले नेपालको निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन परोक्ष रूपमा महत्वपूर्ण सहयोग पुर्‍याएको छ। हाल पक्राउ परेका अभियुक्तहरूसँग थप सोधपुछ भइरहेको छ भने नक्कली नोटको सञ्जालमा संलग्न अन्य व्यक्तिहरूको खोजीका लागि गहिरो अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.