28
सर्लाही ।
सर्लाही धनकौलका रामप्रवेश चौधरी आगामी फागुन २१ गते हुने निर्वाचनको माहोल विगतको भन्दा भिन्न रहेको बताउँछन् । चौधरीले अहिले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाका कारण सर्लाही ४ सहित पूरै मधेसकै वातावरण फरक देखिएको दाबी गरे । अरु बेला पनि कांग्रेससहित अन्य पार्टीका कारण निर्वाचनले माहोल बनाउने भए पनि यो पटक कांग्रेस सभापति थापा आफैँ सर्लाहीमा उम्मेदवार बनेर आएपछि अर्को वातावरण देखिएको चौधरीको भनाइ छ ।
‘कांग्रेसमा सभापति नहुँदै पनि गगन थापा प्रतिको समाजका एउटौ छुट्टै खालको क्रेज थियो’, चौधरी भन्छन्, ‘अहिले त झनै यत्रो आँट गरेर विशेष महाधिवेशन गरेर सभापति बनेर आउनु भएको छ । यसले उहाँप्रतिको विश्वास झनै समाजमा बढेको चौधरीको भनाइ छ । उनले अहिले मधेसभर नै गगन थापाको ‘ह्विम’ फैलिएको बताउँछन् । यसले गगनको लोकप्रियता बढेको देखाउँछ ।
सर्लाही ४ मा थापा उम्मेदवार बनेर पहिलो चरणको प्रचार सकाएर काठमाडौँ फर्किइसकेका छन् । सर्लाहीको धनकौल, रामनगर, बलरा, बरहथवा, विष्णु र बसबरिया जस्ता स्थानीय तहहरू यो क्षेत्रमा पर्छन् । थापा पहिलो चरणमा चार दिन त्यहाँ बसेर सबै वडाका स्थानीय अगुवा नेताहरूसँग छलफल गर्नुको साथै १२ भन्दा बढी कोण सभा र घरदैलो कार्यक्रम गरेका थिए ।
रामनगरका विजय यादवले सभापति थापा आफैँ क्षेत्रमा आएपछि नागरिक तहमै उत्साह देखिएको दाबी गर्छन् । ‘यो भन्दा पहिलो उहाँको बारेमा सुनिएको मात्र थियो’, यादव भन्छन्, ‘तर अहिले उहाँसँगै अन्तर्क्रियाहरू भएपछि उहाँप्रति अलगै खालको आस्था बढेर आएको छ । अहिले कांग्रेसमात्र होइन, पूरै निर्वाचन क्षेत्रको सबै तप्का गगन थापाप्रति सकारात्मक देखिएको अवस्था छ ।’
थापा उम्मेदवार बनेर आएपछि यहाँ अहिले सम्पर्क कार्यालय खोलिएको छ । उनले आफ्नो प्रचारको क्रममा अब यहाँ संसदीय सम्पर्क कार्यालय पनि निरन्तर चल्ने बताएका छन् । जुन यहाँका नागरिकहरूका लागि नालौ देखिन्छ । यस भन्दा पहिला नेताहरूसँग भेट्न उनीहरूको घर धाएका नागरिकहरू अब संसदीय कार्यालयमार्फत गुनासा तथा कामहरूका बारेमा आफ्ना सांसदलाई भन्न पाउँछु भन्नेमा गर्व गर्न थालेका छन् ।
त्योसँगै थापा निर्वाचित नहुँदै अहिलेदेखि नै त्यहाँका नागरिकको समस्याको बारेमा विभिन्न टोलीहरूले स्थलगत अध्ययनहरू गर्न थालेका छन् । जसले स्थानीय समस्याहरू सल्टाउन थापाले अग्रसरता देखाएको विश्वास समाजमा देखिएको छ ।