Home » Blog » चुनावको मुखमा रास्वपाभित्र चरम असन्तुष्टि,अपारदर्शिताको आरोप लगाउँदै नेताहरूको राजीनामाको लर्को

चुनावको मुखमा रास्वपाभित्र चरम असन्तुष्टि,अपारदर्शिताको आरोप लगाउँदै नेताहरूको राजीनामाको लर्को

Ankushdaily
0 comment 37 views
विरगंज ।
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको संघारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र असन्तुष्टि चुलिएको छ। मधेश प्रदेशसहित देशभरबाट पार्टीका प्रभावशाली नेता तथा कार्यकर्ताहरूले नेतृत्वमाथि अपारदर्शिता र आन्तरिक लोकतन्त्रको अभाव भएको आरोप लगाउँदै धमाधम राजीनामा दिन थालेका छन्। विशेषगरी मधेश प्रदेशको बारा जिल्ला र बागमती प्रदेशका शीर्ष तहका नेताहरूको बहिर्गमनले पार्टीलाई निर्वाचनको मुखमा ठूलो धक्का लागेको देखिन्छ।
रास्वपा मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टीभित्र चरम अपारदर्शिता बढेको भन्दै साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी छन्। बाहिर पारदर्शिताको वकालत गर्ने तर भित्र त्यसको ठीक विपरीत अभ्यास भइरहेको उनको आरोप छ। ‘जान्नेलाई छान्ने’ भन्ने पार्टीको मूल नारालाई नेतृत्वले नै लत्याएको दाबी गर्दै शर्माले दैनिक रूपमा इमानदार नेता–कार्यकर्ताले पार्टी छाड्ने क्रम बढिरहेको बताएकी छन्। राजीनामा दिएका नेताहरूले अहिले सामाजिक सञ्जालको भ्रमबाट बाहिर निस्केर चटकदार अनुहारभन्दा पनि देश र समाज बुझेका दल तथा उम्मेदवारलाई मतदान गर्न आम नागरिकलाई अपिल गर्न थालेका छन्।
यसैगरी, बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईं र नेता प्रणय शमशेर राणाले पनि नेतृत्वप्रति गम्भीर प्रश्न उठाउँदै पार्टी परित्याग गरेका छन्। हुमागाईंले पार्टी आफ्नो मूल सिद्धान्तबाट विचलित भएको, समयमा महाधिवेशन गर्न नसकेको र उम्मेदवार छनोट प्रक्रिया त्रुटिपूर्ण रहेको औंल्याएका छन्। उनले नयाँ राजनीतिको नाममा आम नागरिक र ‘जेन–जी’ पुस्तामाथि धोका भएको टिप्पणी गरे। नेता राणाले पनि प्राथमिक निर्वाचन (प्राइमरी इलेक्सन) मार्फत उम्मेदवार छान्ने वाचा पूरा नभएको भन्दै सांगठनिक पारदर्शिता र आन्तरिक लोकतन्त्र कमजोर भएको दाबी गरेका छन्। उनीहरूले अबको निर्वाचनमा भावनात्मक प्रचारभन्दा पनि नीतिगत स्पष्टता र देशको अवस्था बुझेर विवेकपूर्ण निर्णय लिन मतदातालाई आग्रह गरेका छन्।
उम्मेदवार छनोट प्रक्रिया र आर्थिक संकलनलाई लिएर बारा जिल्लामा रास्वपाभित्रको विवाद झनै पेचिलो बनेको छ। जिल्ला संगठन विभाग प्रमुख पवन चौधरी, कलैया उपमहानगरपालिका सभापति सञ्जीव यादव र देवताल गाउँपालिका सभापति कमरुद्धिन मियाँलगायतले सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका छन्। कलैयाका नगरसभापति यादवले पार्टीले अनलाइन फाराममार्फत प्रत्यक्षतर्फ २५ हजार र समानुपातिकतर्फ ५० हजार रुपैयाँ संकलन गरेर पनि स्थानीय नेताहरूलाई उम्मेदवारीमा समावेश नगरेको आरोप लगाउँदै उक्त रकम फिर्ता गर्न माग गरेका छन्। बाराबाट ५० भन्दा बढीले उम्मेदवारी दर्ता गराए पनि रकम बुझाएका कतिपय आकांक्षीलाई समानुपातिक सूचीमै नराखिएको उनीहरूको गुनासो छ।
गत २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा बारा क्षेत्र नम्बर–४ बाट उम्मेदवार भई मधेश प्रदेशमै रास्वपाका तर्फबाट सर्वाधिक (३ हजार ८८४) मत ल्याएका पवन चौधरीसमेत यसपटक टिकटबाट वञ्चित भएपछि असन्तुष्ट बनेका हुन्। जिल्ला सभापति चन्दन स्वर्णकारले जिल्लाका प्रभावशाली नेता तथा पालिका सभापतिहरूको निरन्तरको राजीनामाले आसन्न निर्वाचनमा गम्भीर असर पर्न सक्ने भन्दै केन्द्रीय नेतृत्वको ध्यानाकर्षण गराएका छन्। यसअघि नै बारा क्षेत्र नम्बर–३ का उपसभापति रोशन अधिकारी, क्षेत्र नम्बर–४ का उपसभापति दिलीप पण्डित, परवानीपुर गाउँपालिका सभापति मनोज साह र गढीमाई नगरपालिकाका सचिव प्रदीप गुप्तालगायतले असन्तुष्टि जनाउँदै राजीनामा दिइसकेका छन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.