Home » Blog » विस्फोटक पदार्थसहित पक्राउ परेका चौधरीको बचाउमा दलहरू,एसपी भन्छन्- ‘कानुनभन्दा माथि कोही छैन’

विस्फोटक पदार्थसहित पक्राउ परेका चौधरीको बचाउमा दलहरू,एसपी भन्छन्- ‘कानुनभन्दा माथि कोही छैन’

Ankushdaily
0 comment 121 views
वीरगञ्ज ।
गत फागुन १९ गते राति पर्सागढी नगरपालिकाको बढनिहारबाट विस्फोटक पदार्थसहित पक्राउ परेका नेकपा उम्मेदवार मनोजकुमार चौधरीसहित चार जनाको घटनाले पर्साको राजनीति यतिबेला निकै तातेको छ।
बा १० च १२५० नम्बरको गाडीमा सवार चौधरीसहित सत्यनारायण दास, सुरज कार्की र चालक शेख मुन्ना अन्सारीलाई मौन अवधिमा गरिएको सुरक्षा जाँचका क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीहरूको साथबाट बरामद शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारिसकेको छ। यस घटनामा प्रहरीले निर्वाचन ऐन, विस्फोटक पदार्थ तथा सार्वजनिक शान्तिविरुद्धको कसुरअन्तर्गत अनुसन्धान अगाडि बढाएको जनाएको छ।
यसै विषयलाई लिएर चैत ४ गते पर्सामा क्रियाशील राजनीतिक दलहरूले सर्वदलीय बैठक गरी संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै अनुसन्धान प्रक्रियामा ढिलाइ भएको भन्दै प्रश्न उठाएका छन्। घटनाको १६ दिन बितिसक्दा पनि अनुसन्धानका नाममा उम्मेदवारमाथि मनोवैज्ञानिक दबाब सिर्जना गरिएको र षड्यन्त्रमा फसाउन खोजिएको उनीहरूको आरोप छ।
तर, दलहरूको यस सक्रियताप्रति स्थानीय नागरिक तथा बुद्धिजीवीहरूले भने व्यङ्ग्य र आक्रोश व्यक्त गरेका छन्। जिल्लामा फैलिएको लामखुट्टेको प्रकोप, खस्कँदो शैक्षिक गुणस्तर र जीर्ण सडकजस्ता जनचासोका विषयमा मौन रहने दलहरू आफ्ना नेता तथा कार्यकर्ता जोगाउन मात्र एकजुट भएको भन्दै नागरिकस्तरबाट चर्को आलोचना भइरहेको छ।
उता, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठकले दलहरूको आरोप अस्वीकार गर्दै प्रहरी कानुनी दायित्वअनुसार नै काम गरिरहेको स्पष्ट पार्नुभएको छ। निर्वाचनको संवेदनशीलता र सुरक्षा व्यवस्थापनका कारण अनुसन्धानमा केही समय लागेको उल्लेख गर्दै उहाँले ‘कानुनभन्दा माथि कोही पनि नहुने’ बताउनुभयो।
पिताको काजकिरिया सकेलगत्तै कार्यक्षेत्रमा फर्किएको स्मरण गर्दै एसपी पाठकले प्रहरीले कुनै पूर्वाग्रहबिना निष्पक्ष र सूक्ष्म अनुसन्धान गरिरहेको दाबी गर्नुभयो। साथै, अनुसन्धानमा सहयोग गर्नुको साटो आफ्ना कार्यकर्ता बचाउने प्रवृत्तिमा मात्र दलहरू केन्द्रित हुनु दुःखद भएको टिप्पणी गर्दै सत्यतथ्य छिट्टै सार्वजनिक हुने विश्वास व्यक्त गर्नुभयो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.