Home » Blog » ‘प्लटर’ रामाकान्तको सांसद बनेपछिको ‘प्लटिङ मोह’, सर्वत्र आलोचना

‘प्लटर’ रामाकान्तको सांसद बनेपछिको ‘प्लटिङ मोह’, सर्वत्र आलोचना

Ankushdaily
0 comments 275 views
वीरगंज।
पर्सा क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट नवनिर्वाचित सांसद रामाकान्त चौरसियाले सपथ ग्रहणसमेत नगर्दै अत्यन्त विवादास्पद र गैरजिम्मेवार अभिव्यक्ति दिएका छन्।
विगत ३० वर्षदेखि बन्द रहेको ऐतिहासिक वीरगन्ज चिनी मिलको जग्गा प्लटिङ गरेर बेच्ने र त्यसबाट प्राप्त रकमले कुनै गाउँमा नयाँ चिनी मिल खोल्ने उनको भनाइले यतिखेर गम्भीर प्रश्न उब्जाएको छ। वीरगंजको एक “कर्पोरेट” मीडियाले पर्साको चारै क्षेत्रबाट जितेको सांसदहरुलाई राखेको अभिनन्दन कार्यक्रम बोल्दै सांसद जस्तो गरिमामय निर्वाचित भइसकेको व्यक्ति रामाकान्त चौरसियाले राज्यको सम्पत्तिलाई संरक्षण गर्नुको सट्टा आफूखुसी दोहन गर्ने र भूमाफियाको शैलीमा जग्गा बेच्ने योजना सुनाउनु उनको राजनीतिक नियत माथि गम्भीर प्रश्न खडा गरेको छ । सपथ नै नखाई ‘जनताको काम’ गर्ने नाममा राष्ट्रिय सम्पत्ति मास्ने यस्तो दुस्साहसपूर्ण योजना सार्वजनिक गर्नु लोकतान्त्रिक मूल्य र कानुनी राज्यको  उपहासको रूपमा सर्वसाधारणले बुझेका छन् ।
चौरसियाको विगत र पृष्ठभूमिलाई केलाउने हो भने उनको यस्तो ‘प्लटिङ’ मानसिकता बाहिर आउनु अस्वाभाविक लाग्दैन। निर्माण व्यवसायी संघ, पर्साका पूर्वअध्यक्षसमेत रहेका उनी लामो समयदेखि ठेक्कापट्टा र जग्गा प्लटिङमा सक्रिय व्यवसायी हुन्। एउटा ठेकेदारको व्यापारिक चस्माबाट निर्देशित भएर सरकारी जग्गालाई ‘प्लटिङ’ को नजरले हेर्नु र राज्यको सम्पत्ति बेचेर विकास गर्ने हावादारी गफ दिनु नीतिगत भ्रष्टाचारको स्पष्ट संकेत हो। नीति निर्माणको तहमा पुगेका जनप्रतिनिधिले उद्योग सञ्चालनका वैकल्पिक र दिगो उपाय खोज्नुको साटो सिधै जग्गा बेच्ने दलालको जस्तो भाषा बोल्नु सर्वथा निन्दनीय छ।
उनको राजनीतिक उदय र रास्वपासँगको आबद्धता पनि विवादमुक्त छैन। चुनावको मुखमा मात्र नेपाली कांग्रेस परित्याग गरि रास्वपा  प्रवेश गरेका चौरसियामाथि उनकै पार्टीका स्थानीय कार्यकर्ताले ‘मोटो रकममा टिकट खरिद’ गरेको गम्भीर आरोप लगाएका थिए। स्थापित दलहरूप्रतिको जनवितृष्णा र ‘बालेन लहर’ को प्राविधिक फाइदा उठाउँदै उनी सांसद बन्न सफल भएका हुन्। तर, नयाँ राजनीतिक शक्तिको आवरणमा ठेकेदारी प्रथा र भूमाफियाको स्वार्थ सिद्ध गर्न खोज्नु मतदाताप्रतिको गम्भीर धोका हो।
‘सुशासन र नयाँ राजनीति’ को नारा बोकेको रास्वपा नेतृत्वले आफ्ना नवनिर्वाचित सांसदको यो गम्भीर र आपत्तिजनक अभिव्यक्तिका विषयमा मौनता तोडेर तत्काल स्पष्टीकरण दिनु जरुरी छ। सामाजिक सञ्जालमा सांसद चौरसियाको उछितो काढ्नेहरू बढ्दै गइरहेका छन्।

सम्बन्धित पोस्टहरू