Home » Blog » वीरगञ्जमा डोजर चलाएकोप्रति कांग्रेस नेता द्विवेदीको आक्रोशः ‘यो हुकुमी र गुण्डा शैली हो, राज्य आतंक बन्द गर’

वीरगञ्जमा डोजर चलाएकोप्रति कांग्रेस नेता द्विवेदीको आक्रोशः ‘यो हुकुमी र गुण्डा शैली हो, राज्य आतंक बन्द गर’

Ankushdaily
0 comment 36 views
विरगंज ।
सीमाका संरचना भत्काउन डोजर चलाइएको घटनालाई लिएर नेपाली कांग्रेस पर्साका नेता तथा पूर्व संविधानसभा सदस्य अजय द्विवेदीले कडा आपत्ति जनाएका छन्। स्थानीय प्रशासनको बलमिच्याइँपूर्ण कदमप्रति आक्रोश व्यक्त गर्दै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस कार्यलाई ‘हुकुमी र गुण्डा शैली’ को संज्ञा दिएका छन्। सत्ता साझेदार दलकै शीर्ष स्थानीय नेताबाट प्रशासनको कदमविरुद्ध कडा प्रतिक्रिया आएपछि वीरगञ्जको डोजर कारबाही थप विवादित बन्न पुगेको छ।
नेता द्विवेदीले सडक विस्तारको नाममा कानुनसम्मत र व्यावहारिक प्रक्रिया अपनाउनुपर्ने न्यूनतम दायित्वबाट राज्य चुकेको औंल्याएका छन्। विकास निर्माणको काम गर्दा सडक सीमांकनका लागि विधिवत रूपमा नापजाँच गरी चिन्ह लगाउनुपर्ने र नागरिकलाई आफ्नो जायजेथा तथा सरसामानको उचित व्यवस्थापन गर्न पर्याप्त समय दिनुपर्ने उनको भनाइ छ। यी सबै प्रक्रियालाई लत्याएर एकाएक आफ्नै निहत्था नागरिकको उठिवास लगाउने गरी डोजर आक्रमण गर्नुलाई उनले ‘राज्य आतंक’ को रूपमा अर्थ्याएका छन्।
जिल्ला प्रशासन कार्यालय पर्साले बुधबार सूचना निकालेर १२ घण्टाको पनि समय नदिई बिहीबार बिहानैदेखि नेपाल-भारत मितेरी पुलदेखि गण्डक नहर चोकसम्म डोजर चलाएपछि स्थानीय बासिन्दा र व्यवसायीहरू मर्कामा परेका छन्। छिमेकी जिल्ला मकवानपुरको हेटौंडामा १५ दिनको म्याद र आवश्यक सहजीकरणसहित सडक खाली गराएको प्रशासनले वीरगञ्जमा भने छापामार शैली अपनाएको भन्दै जनस्तरबाटै विरोध भइरहेको छ। नागरिकलाई आफ्नो व्यापारिक र घरायसी सामान सार्ने मौकासमेत नदिई गरिएको यस अमानवीय कारबाहीलाई नेता द्विवेदीको भनाइले थप मुखरित गरेको छ र यसले स्थानीय स्तरमा प्रशासनको कार्यशैलीमाथि गम्भीर प्रश्नचिह्न खडा गरिदिएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.