Home » Blog » शैक्षिक उन्नयनको सन्देशसहित प्याब्सन पर्साद्वारा ‘लेगेसी अवार्ड’ वितरण

शैक्षिक उन्नयनको सन्देशसहित प्याब्सन पर्साद्वारा ‘लेगेसी अवार्ड’ वितरण

Ankushdaily
0 comments 12 views
वीरगञ्ज । निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) पर्साले नयाँ वर्ष २०८३ को अवसर पारेर ‘लेगेसी अवार्ड–२०८२’ तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ। वीरगञ्जस्थित होटल भिस्वामा आयोजित उक्त समारोहमा शिक्षा क्षेत्र र संस्थागत विकासमा अतुलनीय योगदान पुर्‍याउने अग्रज व्यक्तित्वहरूलाई सम्मान गरिएको हो। “उत्कृष्टतालाई सम्मान गर्दै, नयाँ सुरुवातलाई अँगाल्दै” भन्ने मूल नाराका साथ सम्पन्न कार्यक्रमले शैक्षिक उन्नयन, आपसी सद्भाव र सहकार्यको सन्देश प्रवाह गरेको छ।
सो अवसरमा प्याब्सन पर्साका संस्थापक सदस्यहरू मणिकुमार लामा, लालबाबु प्रसाद कुर्मी र श्याम केसीलाई ‘प्याब्सन लेगेसी अवार्ड–२०८२’ बाट सुशोभित गरिएको थियो। कुर्मी र केसी संस्थाका पूर्वअध्यक्ष समेत हुन्। लामो समयदेखि शिक्षा क्षेत्रको समग्र विकास र प्याब्सनको गौरवशाली इतिहासलाई जीवन्त राख्न उनीहरूले पुर्‍याएको विशिष्ट योगदानको उच्च कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो।
कार्यक्रमका सभापति एवं प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीले अग्रजहरूको सम्मानले नयाँ पुस्तालाई ऊर्जा र प्रेरणा मिल्ने धारणा व्यक्त गरे। अग्रजले कोरेको मार्गनिर्देशनकै कारण संस्था वर्तमान अवस्थासम्म आइपुगेको स्मरण गर्दै उनले आगामी दिनमा शैक्षिक गुणस्तर अभिवृद्धि र प्याब्सनको विरासत सुदृढ गर्न सबै सरोकारवालाहरू एकजुट हुनुपर्नेमा जोड दिए।
पशुपति विक्रम साह र उषादेवी साहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वीरगञ्ज महानगरपालिकाको शैक्षिक महाशाखा प्रमुख आनन्द लामिछाने, मधेश विश्वविद्यालयका उपकुलपति दीपक शाक्य, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, प्याब्सन मधेश प्रदेशका उपाध्यक्ष पुरन प्रधान, महानगर अध्यक्ष राहुल श्रीवास्तव र पर्साकी वरिष्ठ उपाध्यक्ष सुशीला साहलगायत विशिष्ट अतिथिको रूपमा उपस्थित थिए। वीरगञ्जका विभिन्न निजी विद्यालयका सञ्चालकहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले गरेका थिए।

सम्बन्धित पोस्टहरू