Home » Blog » प्रशासनको सूचनापछि वीरगञ्ज हेल्थ केयरले आफैँ भत्कायो सडक सीमाभित्रका संरचना

प्रशासनको सूचनापछि वीरगञ्ज हेल्थ केयरले आफैँ भत्कायो सडक सीमाभित्रका संरचना

Ankushdaily
0 comment 145 views
वीरगञ्ज ।
जिल्ला प्रशासन कार्यालय पर्साले त्रिभुवन राजपथ अन्तर्गतको गण्डक–मितेरी पुल सडकखण्डमा पर्ने सडक सीमाभित्रका अतिक्रमण हटाउन सूचना जारी गरेसँगै वीरगञ्ज हेल्थ केयर हस्पिटलले आफ्नो संरचना भत्काउन सुरु गरेको छ। राष्ट्रिय राजमार्गको मापदण्ड कायम गर्ने सरकारी निर्णयको सम्मान गर्दै हस्पिटलले सडकको केन्द्रविन्दुबाट २५ मिटरभित्र परेका आफ्ना भौतिक संरचनाहरू आफैँ हटाउन थालेको हो।
सडक डिभिजन कार्यालय हेटौँडा र वीरगञ्ज महानगरपालिकाको पत्रानुसार जिल्ला प्रशासन कार्यालयले एक सूचना प्रकाशित गर्दै नेपाल–भारत मितेरी पुलदेखि गण्डक नहर चोकसम्मको सडक सीमा खाली गर्न निर्देशन दिएको थियो। प्रशासनले उक्त क्षेत्रभित्र पर्ने संरचना, पसल तथा सरसामानहरू वैशाख ६ गते बिहान ४:३० बजे अगावै खाली गरिसक्न सम्बन्धित सबै सरोकारवालालाई आग्रह गरेको छ। सडक संरक्षण तथा विस्तारको यस कार्यमा सहयोग र सहजीकरण गर्न प्रशासनले राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी र आम नागरिकमा आह्वानसमेत गरेको छ।
सरकारी सूचना र कानुनको पूर्ण पालना गर्दै अतिक्रमण हटाउने कार्यको थालनी गरिएको वीरगञ्ज हेल्थ केयर हस्पिटलका अध्यक्ष डा. अबुल हैस अन्सारीले जानकारी दिएका छन्। उनले राज्यको निर्णयको कदर गर्दै आफूहरूले संरचना भत्काउन सुरु गरेको स्पष्ट पारेका छन्। यद्यपि, उनले सडक विस्तार वा अतिक्रमण हटाउने क्रममा घरबारविहीन वा रोजीरोटी गुम्न सक्ने गरिब तथा असहाय नागरिकहरूको उचित व्यवस्थापन र मर्काबारे पनि सरकारले संवेदनशील भएर सोच्न आग्रह गरेका छन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.