Home » Blog » प्रदीप यादव नयाँ “लुक” मा

प्रदीप यादव नयाँ “लुक” मा

Ankushdaily
0 comment 261 views

(स्तम्भकार कुमार रुपाखेती)

पटक पटक सांसद र मन्त्री भए प्रदीप यादव । पदमा बसुन्जेल प्रदीप यादवको पोशाकमा हाफबन्डी, कुर्ता, पैजामा, खुट्टामा सन्डील भीरेका हुन्थे । सफा सुग्घर, चिटिक्क क्रिज (आयरन) गरेको कपडा उनको रोजाइ थियो । भनिन्छ मधेसमा कुर्ता, पैजामा पहिर्दाको रवाफै बेग्लै । यादव आफ्नो ड्रेस प्रति सचेत रहन्छन् ।

सडक विभागले वीरगंज मेनरोडको नक्सा बिगार्दा, भाँचकुच गर्दा कतिपय स्थानीय नेताहरू भूमिगत भए, कोही विदेशतिर रे, अनि वीरगंजमा रहेकाहरू समेत “होम अरेस्ट”झै तै चुप मै चुप । नेपाली काइदा सबैलाई फाइदा भनेको यही हो । कुर्ता, पैजामाधारीलाई तराईमा नेताजी भनिन्छ । मधेसमा कुर्ता, पैजामा नेताहरूको मनपसन्द पहिरन हो । वीरगंज तोडफोडको एक हप्ता पछि “देर आए दुरुस्त आए” स्तरमा प्रदीप यादव एउटा सानो टुकडीसाथ सडकमा पाउकष्ट गरेछन् । तर अचम्म उनको लवाइ एकाएक बदलिएको पाइयो । यादवजी त जिन पाइन्ट, हाफ ज्याकेट, शीरमा क्याप, पाउमा जुत्ता मोजा । नयाँ लुकको वीरगंज – नयाँ लुकमा यादव ।

फरक ड्रेसमा रहेकाले धेरैले प्रदीप यादवलाई नचिनेर सलामसमेत गरेनछन् । तर पछि उनको आवाजले चिनेछन् । त्यही मसिनो स्वर । अक्सर जिटजाटमा रहने प्रदीप यादवले नयाँ पहिरनका साथ वीरगंजको अनुगमन, स्थलगत निरीक्षण गरेर के निष्कर्ष निकाले त्यो त अज्ञात नै रह्यो । तर धेरैले उनको “न्यु लुक” लाई लाइक गरेको पाइयो । धेरैले नयाँ पोशाक उनलाई सुट गरेको प्रतिक्रिया दिए । नाइस ड्रेस पनि भने । छरहरा छरितो बदनका मालिक हुन् प्रदीप यादव । बिचरा मन्त्री हुँदा त मोटाएनन्, अब त झन् भुँडि के लाग्ला ?

निर्वाचन अघि संसद विघटन नहुन्जेलसम्म प्रदीप यादव पर्साका बलिया नेता भनिन्थे । अस्तीको संसदीय निर्वाचनले थुप्रै बलवान उम्मेदवारहरूको बरियारी झारिदियो । बिचरा प्रदीप भाइको मात्र के कुरा । पहिले पदमा रहँदा धेरैले उनी उपस्थित हुँदा आड, भरोसा पाएको महसुस गर्थे । टुटफुटमा वहाँको रवैया परिवर्तित राजनैतिक माहोलमा सख्ती । नगरी के हुन्छ, पर्खिन नै पर्छ । तर बडा गजबको छ हाम्रो वीरगंज । यहाँ घरहरू धराशायी भएका छन्, विजोग छ । तर चर्चा प्रदीप यादवको नयाँ पहिरनको छ । अरे यार, समय अनुसार पोशाक फेर्ने प्रदीप भाइको शौख हो । कुर्सीमा कुर्ता अहिले जिन पाइन्ट । वीरगंजको चित्र नै विचित्रको छ । समय र मौसम अनुसार जसले पनि आफ्नो रोजाइको पहिरन लगाउन पाउँछ । प्रम वालेनजीलाई नै हेर्नुस्, सदैव कालो पहिरन । अघोरीले मात्र कालो पहिरन गर्ने कतै लेखेको छ र ?

प्रदीप भाइलाई म धेरै अघि मधेस आन्दोलन भन्दा पहिले देखि चिन्छु । २०६२ साल पछि उनी आफ्नो पोशाक प्रति सचेत देखिन्छन् । आफ्नो पोशाक प्रति सचेत हुनु कुनै अपराध होइन । बहस वीरगंजको तोडफोडमा केन्द्रित रहोस्, प्रदीप भाइको ड्रेसमा विषयान्तर नहोस् । स्कुले विद्यार्थीले मात्र एकै थरी पोशाक लगाउँछन्, चेतना होस् ।

श्याम वर्णका, दुब्ला, पातला, छरितो कदकाठीका प्रदीप यादव पहिले मलाई हँसमुख लाग्दथे ।अस्ती वीरगंज अवलोकन भ्रमणमा किन हो कुन्नि मैले पुरानो चमक देखिन ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.