Home » Blog » ‘जिरो वेस्ट सिटी’ बनाउने लक्ष्यका साथ वीरगञ्जमा शून्य फोहोर मेला सम्पन्न

‘जिरो वेस्ट सिटी’ बनाउने लक्ष्यका साथ वीरगञ्जमा शून्य फोहोर मेला सम्पन्न

Ankushdaily
0 comments 14 views
वीरगञ्ज ।
वीरगञ्जलाई स्वच्छ, हरियाली र दिगो शहरका रूपमा विकास गर्ने उद्देश्यसहित आमा नेपाल फाउन्डेसनको आयोजनामा ‘शून्य फोहोर मेला–२०२६’ सम्पन्न भएको छ। “स्वच्छ, हरियाली र दिगो भविष्यतर्फ” भन्ने मूल नाराका साथ वीरगञ्जस्थित क्लासिक ब्याङ्क्वेटमा आयोजित उक्त मेलामा वातावरणीय सचेतना र दिगो फोहोर व्यवस्थापनमा विशेष जोड दिइएको थियो।
कार्यक्रमको उद्घाटन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले फोहोर व्यवस्थापन आजको अपरिहार्य आवश्यकता रहेको औंल्याउँदै ‘जिरो वेस्ट’ (शून्य फोहोर) अवधारणालाई दैनिक व्यवहारमा उतार्न आग्रह गर्नुभयो। वीरगञ्जलाई दिगो शहर बनाउन स्थानीय तह, निजी क्षेत्र र नागरिक समाजबीचको एकीकृत सहकार्य जरुरी रहेको उहाँको भनाइ थियो। सोही अवसरमा फाउन्डेसनकी अध्यक्ष प्रमिता मानन्धरले शून्य फोहोर अभियान केवल एउटा वातावरणीय कार्यक्रम मात्र नभई समग्र समाजको सोच र व्यवहार परिवर्तन गर्ने महाअभियान भएको बताउनुभयो। वीरगञ्जलाई ‘जिरो वेस्ट सिटी’ बनाउने संस्थाको दीर्घकालीन लक्ष्य रहेको जानकारी दिँदै उहाँले सबै सरोकारवाला पक्षसँग रचनात्मक सहयोगको अपेक्षासमेत गर्नुभयो। त्यस्तै, संस्थाका कार्यकारी निर्देशक सन्तोष कुमार श्रेष्ठले प्लास्टिक प्रदूषण न्यूनीकरण र सामग्रीको पुनः प्रयोग (रियुज) गर्ने संस्कृति विकासमा युवा पुस्ताको भूमिका निर्णायक हुने धारणा राख्नुभयो।
सर्वसाधारणलाई दिगो जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देश्यले मेलामा शून्य फोहोर प्रदर्शनी, वातावरणमैत्री सामग्री तथा पुनर्चक्रण (रिसाइकल) गरिएका हस्तकलाका सामग्रीहरू प्रदर्शनमा राखिएका थिए। अभियानकै एक हिस्साका रूपमा समुदायमा चेतना फैलाउन ‘क्लिन–अप क्याम्पियन’ (सरसफाइ अभियान) समेत सञ्चालन गरिएको आयोजकले जनाएको छ। वीरगञ्ज उद्योग वाणिज्य संघका प्रतिनिधि, स्वास्थ्य तथा समाज कल्याण शाखाका प्रमुखलगायत विभिन्न शैक्षिक संस्थाका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको यस मेलाले फोहोरलाई स्रोतमै वर्गीकरण गर्ने र ‘फोहोरबाट मोहोर’ आर्जन गर्ने सम्भावनाबारे प्रभावकारी जनचेतना जगाएको छ।

सम्बन्धित पोस्टहरू