Home » Blog » चौधरीलाई पक्राउ गरी अनुसन्धान गर्न बाटो खुला

चौधरीलाई पक्राउ गरी अनुसन्धान गर्न बाटो खुला

अंकुश दैनिक
0 comment 8 views

काठमाडौँ, ९ पुस :
कैलालीको टीकापुर घटनामा हत्याका आरोपी तथा कैलाली–१ बाट प्रतिनिधिसभामा निर्वा्चित सदस्य रेशम चौधरीलाई पक्राउ गरी अनुसन्धान गर्नका लागि बाटो खुला भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले सर्वोच्च अदालत प्रशासनले वारेसमार्फत दर्ता गर्न ल्याएको मुद्दा दरपीठ गर्नु कानूनसम्मत भएको फैसला सुनाएको हुँदा चौधरीलाई पक्राउ गरी अनुसन्धान गर्न बाटो खुला भएको हो ।
प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले यही पुस ४ गते कर्तव्य ज्यान, लुटपाटलगायतको अभियोगपत्रको कागजातको प्रमाणित प्रतिलिपि झिकाउने आदेश दिएको थियो । सोहीबमोजिम अधिवक्ता सुनीलकुमार पटेल र दीपेन्द्र झाले अदालतमा प्रमाणित प्रतिलिपि पेश गर्नुभएको थियो ।
आदेशमा अभियोग लागेका व्यक्तिले जानीजानी अदालती प्रक्रियालाई अवज्ञा गरी राज्यद्वारा प्रदान गरिने सुुविधा वा हक उपभोग गर्न गैरकानूनी बाटोको प्रयोग गर्ने हो भने देशमा दण्डहीनताको स्थिति सिर्जना हुनसक्ने भनी उल्लेख गर्दै भनिएको छ, अदालती प्रक्रियालाई छलेर कसैले पनि संविधान एवं प्रचलित कानूनले प्रदान गरेको सुविधा उपभोग गर्न पाउनुपर्छ भन्नु कदाचित मिल्दैन । त्यसैगरी, आदेशमा कर्तव्य ज्यान मुद्दाको अभियोग लागेका चौधरीले अदालतबाट जारी भएको वारेन्ट तथा म्यादी पुर्जी अवज्ञा गरेको देखिएको र फरार अभियुक्तलाई जुनसुकै बेला पक्राउ गरेर अदालतमा दाखिल गर्नुपर्ने प्रावधान रहेको उल्लेख छ ।
कैलालीको टीकापुरमा आठजनाको ज्यान जाने गरी भएको घटनाका मुख्य अभियुक्त भनी पक्राउ पुर्जी जारी भई फरार रहेकै अवस्थामा प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि चौधरीले वारेसमार्फत विजयको प्रमाणपत्र लिन नपाएपछि सर्वोच्चमा रिट निवेदन दर्ता गर्न खोज्दा सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको थियो ।
जिल्ला निर्वाचन कार्यालयले आफैँ उपस्थित हुनुपर्ने भन्दै प्रमाणपत्र दिन अस्वीकार गरेको थियो । विसं २०७२ भदौ २७ मा थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा नेपाल प्रहरीका एसएसपीसहित सात सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो । (रासस)

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.