वीरगञ्ज ।
सशस्त्र प्रहरीले वीरगञ्जबाट १३ लाख बढीको मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।सशस्त्र प्रहरी बल नम्बर १३ नम्बर गण मातहतमा रहेका बोर्डर आउट पोष्ट, सुरक्षा बेस क्याम्पले विभिन्न स्थानबाट १३ लाख २० हजार २३५ रुपैयाँ बराबरको सामान तथा सवारीसाधन बरामद गरेको हो ।
प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ भन्सार गेट आसपासको क्षेत्रबाट ७ लाख ४० हजार ९५५ रुपैयाँ बराबरको किराना सामान, मोटर पार्टस र लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) देवेन्द्र सिंहले जानकारी दिए ।
डिएसपी सिंहकाअनुसार भारतबाट अवैध रुपमा भन्सार छलीका सामग्री ढुवानीमा प्रयोग गरिएको बि.म.न.पा. १ ह २–००२२ नम्बरको २ लाख मूल्य बराबरको अटो पनि नियन्त्रणमा लिइएको छ ।
यस्तै सुरक्षा बेश बहुअर्वाभाठाबाट खटिएको टोलिले १२ हजार मूल्य बराबरको पंखा बरामद गरेको छ । बिन्दबासिनी गाउँपालिका वडा नम्बर २ बहुअर्वाभाठामा चेकजाँचको क्रममा ना.६३ प६५१५ नम्बरको मोटरसाइकलबाट पंखा बरामद गरिएको डिएसपी सिंहले जानकारी दिए ।
सशस्त्र प्रहरीले राजस्व चुहावट नियन्त्रणका लागि कुनै कसर बाँकी नराखेको सशस्त्र प्रहरी बल १३ नम्बर गणका गणपती सशस्त्र प्रहरी उपरीक्षक किसन कर्माचार्यले दावी गरे । उनले खुला सीमा क्षेत्र भएको हुँदा चुनौतीपूर्ण भएपनि सशस्त्र प्रहरी सुरक्षा व्यवस्था कडा पारेर चेकजाँचमार्फत निरन्तर निगरानी बढाएको बताए ।