Home » Blog » अजयबाबु शिवाकोटीले केन्द्रीय समितिमा भने- नयाँ पुस्तालाई लक्षित गरेर संगठन सुदृढीकरण अभियान चलाउनुपर्‍यो

अजयबाबु शिवाकोटीले केन्द्रीय समितिमा भने- नयाँ पुस्तालाई लक्षित गरेर संगठन सुदृढीकरण अभियान चलाउनुपर्‍यो

Ankushdaily
0 comment 35 views
विरगंज
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टीले नयाँ पुस्तालाई लक्षित गरेर संगठन सुदृढीकरण अभियान सञ्चालन गर्नुपर्ने कुरामा जोड दिएका छन । नेपाली काँग्रेसको जारी केन्द्रीय समितिको बैठकमा आइतबार आफ्नो धारणा राख्ने क्रममा केन्द्रीय सदस्य शिवाकोटीले पार्टीले सांगठनिक अभियान चलाउँदा नयाँ पुस्ता लक्षित अभियान संचालन गर्नुपर्ने आबश्यकता औंल्याए।
शिवाकोटीले बैठकमा ब्यक्त गरेको बिचारको अंश 
सभापतिज्यू, पदाधिकारीज्यूहरु, कार्यसमितिका अग्रज तथा साथीहरु,
नेपाली कांग्रेस केन्द्रीय समितिको यो वैठककै पूर्वसन्ध्यामा पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागको विभागीय जिम्मेवारी प्रदान गर्नुभएकोमा पार्टी सभापतिज्यू तथा नेतृत्व तहलाई धन्यवाद ज्ञापन गर्दछु ।
महासमिति वैठक यता राजनीतिक वृत्तमा निकै उथलपुथल भए । उथलपुथल गर्ने केहि खेलाडीहरु थन्किएर समिक्षामै व्यस्त छन् । समिक्षा हिजो हामीले पनि गरेका थियौं । कतिपय सन्दर्भमा समिक्षा गर्न ढीलाई पनि गरेका थियौं । ति सबैलाई आफ्नो अनुकुलतामा व्याख्या गर्दै आएका थियौं र छौं । तर यतिखेर हामी जहाँ जुन समयमा उभिएका छौं यहाँ हामीलाई असफल हुने छुट छैन । नागरिकमा आशा सञ्चार गर्नुपर्ने बेलामा निराश बनाउने छुट पनि छैन । भरोसा दिलाउनु पर्ने बेलामा तोड्ने छुट पनि छैन ।
कांग्रेस र एमालेको सहभागितामा बनेको यो सरकारले पनि नागरिकमा व्याप्त निराशा तोड्न सकेन भने आशाको संचार कस्ले गर्ने ? यो कटु तथ्यलाई नेतृत्व तहका सबै नेताहरुले पक्कै बुझ्नु भएकै छ । दुई फरक ध्रुबका प्रतिष्पर्धी राजनीतिक दल एक विशिष्ट परिस्थितिमा सत्ताका सहयात्री हुनुपरेको छ ।
सत्ता र प्रतिपक्षीको फरक भूमिकामा हुँदा दुबै दलले एक अर्का बिरुद्ध राजनीतिक आरोप प्रत्यारोप गरेका थिए । ति आज पनि रेकर्डेड छन् र जीवित छन् । कतिपय मुद्धाहरु पनि जीवित छन् । परिस्थिति खास बदलिएको पनि छैन । यो केन्द्रीय समितिमा रहेका हामी कान्छो पुस्ताले हिजो एक अर्काविरुद्ध गरिएका आरोप प्रत्यारोपको के भनेर आज बचाउ गर्ने भेउ पाउन सकेको छैन । त्यसकारण पनि यहि वैठकमा हिजो एक अर्का विरुद्ध गरिएका आरोप प्रत्यारोपको बारेमा प्रष्ट पार्नुपर्ने मत पनि आएको छ ।
आज सरकारमा सँगै आएका कारण मात्र हामीले हाम्रो धारणालाई त्याग गर्नुपर्छ भन्ने हो भने त्यो अरुले अरु नै कोणबाट उठाएर हाम्रै विरुद्ध प्रयोग गर्ने खतरालाई पनि नजर अन्दाज गर्नुहुन्न भन्ने मेरो मत छ । त्यसैले पोजिसनमा नभएका हामीहरुको पोजिसन वास्तवमै यसकै वरिपरि रहँदै आएको छ ।
विश्वासको वातावरण बनाउने कि विगार्ने ?
अहिले विश्वासको वातावरण बनाउनुपर्ने आवश्यकता छ । सरकार बनेदेखि नै प्रधानमन्त्री सहित कतिपय मन्त्रीहरु यसका लागि लाग्नु भएको अनुभुती नागरिक तहबाट गरिएको छ । यो सरकारको कामलाई राम्रोसँग जनताको बीचमा लैजान पाइयोस भन्ने हाम्रो पनि चाहना छ ।
सरकारले भरोसा दिलाएका कारण नीजि क्षेत्र, शेयर बजार उत्साहित भयो । बजारमा सामान्य चहलपहल देखिन पनि थाल्यो । प्रधानमन्त्री र अर्थमन्त्री आफै बजारलाई उत्साहित बनाउने गरि लागिरहँदा हाम्रै पार्टीका जिम्मेवार साथीहरुले संसदमा बजारलाई निरुत्साहित गराउने अभिव्यक्ति दिदा शेयर बजार एक्कासी तल झर्‍यो ।
लाखौ लगानीकर्ताहरुले हाम्रा पार्टीका नेताहरुलाई गाली गरिरहेका छन् । वजारले करेक्सन खोजेको थियो, हुन्थ्यो पनि । तर बेला न कुबेला संसदमै प्वाक्क बोल्दा त्यसको अपजस पार्टीले पनि उठाउनु परिरहेको छ । पार्टी बजारको विरोधी जस्तो छाप पर्न खोजेको छ ।
आज नेपाली कांग्रेसको यो वैठकलाई लाखौं लगानीकर्ता हेरेर बसेका छन् । हामीले उनीहरुलाई विश्वास र भरोसा दिलाउने की नदिलाउने ? प्रधानमन्त्री सहित सहयात्री दलका नेताहरु बजारलाई उत्साहित गराउन लाग्ने अनि हाम्रा नेताहरु भड्काउन लाग्दा विश्वासको वातावरण बन्छ की विग्रन्छ ?  सोचौं ।
विगतमा पनि सत्तासहयात्रीका बीचमा कुन कुन परिस्थितिमा विश्वासको संकट पैदा भइ वातावरण विग्रिएको थियो त्यो पनि हेक्का राखौं । विश्वासको आर्जन विगतमा उठाइएका कुरालाई कार्पेट मुनी छोपेर मात्र प्राप्त हुँदैन । आम नागरिकमा सरकार र राज्यका संचालकहरुप्रति गुम्दै गएको विश्वासको संकटको परिपूरण कसरी हुन्छ यो वैठकले पहिल्याउनु पर्छ।
खासमा विश्वास र भरोसा सत्तासहयात्रीहरुमा जति जरुरी छ त्यो भन्दा पनि बढी नागरिक तहमा दिलाउन जरुरी छ । विजुली वालेको विल खुरुखुरु तिरेको नागरिक अर्वौ रुपैयाँ वक्यौता नतिर्ने भनिएका संस्था र प्राधिकरणको जुहारी सुनेर रुष्ट छन् ।
जलविद्युत सहितका अन्य आयोजनाहरुबाट प्रभावित स्थानीय जनतालाई दिइदै आएको शेयर ती आयोजनाको प्रोमोटरलाई जस्तै ३ बर्षसम्म लकिङ पिरियडमा राख्दा उनीहरुले कारोवार गर्न पाइरहेका छैनन् । आयोजनाका कारण समस्या झेल्नुपर्ने स्थानीय तर अन्य सर्वसाधारणले झैं लाभ लिन बर्षौ कुर्नुपर्ने यो विभेदकारी नीतिले पनि अहिले हजारौं आयोजना प्रभावित स्थानीय सर्वसाधारण रुष्ट छन् ।
यसमा तत्काल नीतिगत संसोधन गर्न पनि यो वैठकले सरकारमा रहेका सम्वन्धित मन्त्रीलाई निर्देशन दिनु जरुरी छ । देशैभरका अन्य आयोजनाको विद्युत हिउँदमा ८:४० पैसामा किन्ने प्राधिकरणले माथिल्लो तामाकोशी आयोजनालाई हिउँद र वर्खामा एउटै दर ४ रुपैयाँ मात्र दिएर यसका लगानीकर्तालाई पनि रुष्ट पारेको छ । अहिले माथिल्लो तामाकोशीको पीपीए पुनरावलोकन हुनुपर्ने मागको सम्वोधनका लागि पनि निर्णय होस ।
राष्ट्रिय परिचयपत्र लिने क्रममा हजारौं सर्वसाधारणले अनेक झण्झट वेहोर्नु परेको छ । नागरिकता साथमा हुँदा हुँदै बनाउन लगाउने देखि अनेक दुख दिने काम भएका कारण नागरिक रुष्ट छन् । संघ देखि स्थानीय तहसम्म कर बुझाउन जाने सर्वसाधारण पनि खुसी भन्दा रुष्ट हुँदै फर्कने अवस्था छ ।
सरकार आफैले बनाएको राजदुत नियुक्तिको मापदण्ड विपरित नियुक्ती गर्दा अहिले विरोधका स्वर सुनिन थालेका छन्।
यस्ता अनेक प्रकरणहरुमा सरकारहरुसँग रुष्ट रहँदै आएका नागरिकलाई हिजोको श्रीलङका र आजको वंगलादेशको घटना वारम्वार दोहोर्‍याएर भड्काउवादीहरु भड्काउन उद्यत छन् ।
नयाँ नायक बन्न खोज्नेहरुले गरेको प्रोपोगण्डाको राजनीतिबाट संक्रमित बन्दै गएको समाजलाई सहि बाटोमा ल्याउन हाम्रा कर्महरु पनि सहि हुन जरुरी छ । हाम्रो पार्टी नेपाली कांग्रेस र सरकारले यसमा विशेष ध्यान दिन जरुरी छ । सय दिने सांगठनिक अभियानले यसतर्फ पनि ध्यान पक्कै दिनेछ।
नयाँ पुस्तासँग कांग्रेस अभियानको आवश्यकता
मैले अघिल्लो वैठकमा पनि पार्टीले सांगठनिक अभियान चलाउँदा नयाँ पुस्ता लक्षित अभियानको आवश्यकताको बारेमा बताएको थिए । खासगरि यो वैठकमा प्रतिनिधित्व नभएको उमेर समूहको नयाँ पुस्ता आज तपाइ हामीप्रति आक्रामक छ जस्लाई हामीले चिनेर पनि नजर अन्दाज गरेका छौं ।
यहि पुस्तालाई संघीय लोकतान्त्रिक गणतन्त्रका विरोधीहरुले सबैभन्दा बढी वहकाइ रहेको छ ? हो यहि कुराको उत्तर खोज्न पनि नयाँ पुस्ता लक्षित कार्यक्रम अझ सार्थक र सघन रुपमा ल्याउनु पर्दछ । पार्टीमा नयाँ पुस्ताको प्रवेशलाई बढाउने कार्यक्रमको डिजाइन गर्नुपर्‍यो । नयाँ पुस्तासँग कांग्रेस संवादमा जाने कार्यक्रम ल्याउनु जरुरी छ ।
नेपाली कांग्रेसको महाधिवेशन भएको ३ बर्ष पुरा हुने क्रममा छ । विधानत २०८२ मंसिर भित्र १५ औं महाधिवेशन गर्न अब समयवद्ध कार्यतालिका ल्याउनु ढीलो गर्नुहुन्न । पार्टीका विभिन्न तहमा पदीय जिम्मेवारी लिएर पनि पुरा गर्न नसकी रिक्त रहेको स्थानमा पदपूर्ती गरि पार्टी समितिहरुलाई काम गर्न सहज बनाउने प्रस्ताव उचित छ ।
भातृ संस्था, शुभेच्छुक संस्थाको अधिवेशन गर्न ति संस्थाका प्रमुखहरु निर्देशक समितिलाई जिम्मेवार बनाइयोस । स्थानीय तहको चुनावको घोषणापत्र सार्वजनिक गर्दा नै बनाउने भनिएको र यो वैठकमा पेश भएको जनप्रतिनिधी कार्यसम्पादन निर्देशिका सबै तहका जनप्रतिनिधीको लागि लागू गरियोस ।
टिकट वितरणको लागि आन्तरिक कार्यसम्पादन मूल्याङकनसँगै ‘ थर्ड पार्टी ‘ लाई पनि कार्यसम्पादन मूल्याङकन गर्न लगाएर त्यसलाई पनि टिकट वितरणको मापदण्ड बनाइयोस । चुनाव अघी गठवन्धन गर्ने की नगर्ने भन्ने बिषय महासमितिले टुंगो लगाइसक्यो । वैशाखीको सहारामा होइन आफ्नै बलबुतामा उभिएर प्रतिष्पर्धा गर्ने पार्टी हामीलाई चाहिएको छ, यसैमा ध्यान केन्द्रीत गरौं ।
जय नेपाल।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.