Home » Blog » वडा नं. ५ र नगरप्रहरी

वडा नं. ५ र नगरप्रहरी

Ankushdaily
0 comment 369 views

(स्तम्भकार कुमार रुपाखेती)

विरगंज वडा नं. ५ अहिले महानगरपालिकाका नगरप्रहरीका हरकतले बदनाम भएको छ। भनिन्छ, आफ्ना विरोधीहरूलाई तर्साउन वडा अध्यक्षले नै वडामा नगरप्रहरी घुसपैठ गराएर आफ्नै आङको छारो उडाएका छन्। अनाहकमा नगरप्रहरीको माकाफुई (बन्दरघुर्की) देखाएर वडाका ललन सिंह र श्रीराम सिंहको घरको प्रवेशद्वार जेसीभी लगाएर भत्काइएको छ।
असार ८ गते गोपाल र परशुरामको घरको दैलो जेसीभी र नगरप्रहरीको जत्थासहित भत्काइयो। नगरप्रहरीको आडमा वडावासीलाई धम्क्याउने काम वडाअध्यक्षले चर्को रूपमा चलाएका छन्। त्यसैगरी, जेठ १ गते शनिवार एकै बिहानै नगरप्रहरीको जत्था ल्याएर नारायणी स्पोर्ट्स क्लबको ताला अवैध तरिकाले भत्काइएको थियो। वनको बाघले नखाए पनि मनको बाघका शिकार वडा अध्यक्ष अहिले सबै वडावासीलाई विरोधी र विपक्षी ठानी नगरप्रहरीको अन्धाधुन्ध दुरुपयोग गरिरहँदा पनि महानगरपालिका मौन रहनु रहस्यमय देखिन्छ।
हुतिहारा प्रकृतिका वडा अध्यक्ष प्रदीप चौरसिया सही मान्छे भएको भए, आफैंले किन नारायणी स्पोर्ट्स क्लबको ताला नफुटाएका? डराएर नगरप्रहरी प्रयोग गरिएको वडावासीको आरोप छ। त्यस्तै, वडामा यिनले वर्षातको मौका छोपेर कमसल निर्माण कार्य गरिरहेका छन्। असारे बजेट हिनामिना गर्न यिनले थारु छात्रावास अघिको बलियो ढलान भत्काएर जोरजबरजस्ती टायल्स लगाएका छन्। आएर हेर्नुस्, नयाँ टायल्स घसेको, फुटेको, धसेको, पानी जमेको प्रष्ट देखिन्छ। नाला निर्माणमा समेत अनुभवहीन व्यक्तिलाई मिलेमतोमा ठेक्का दिएको र कमसल काम भइरहँदा पनि मेयर साहेब “गोरे गोरे मुखड़े में काला काला चश्मा” लगाएर ‘घुम्ने मेचमा अन्धो मान्छे’ बनेका छन्। कुनै अनुगमन नभएकोले वडा नं. ५ मा कमसल काम गर्ने होडबाजी चलेको छ।
मेयरको नाम लिँदै चौरसियाले “सैयाँ भए कोतवाल, अब डर काहेका?” भन्छन्। त्यसैगरी, विगतमा वडा कार्यालय रहेको धर्मशालामा व्यापार गर्न छुट दिएका छन्। वडाको सार्वजनिक धर्मशालामा व्यापार गर्न पाइन्छ र? महिला उत्थान रे? “कतै नभएको जात्रा हाँडिगाउँमा” भनेजस्तै यही वडामा भएको हो। भन्नेहरू भन्छन्, यही आडमा लोहारपट्टिमा रहेको यिनको सगोलको लोहालक्कड पसलमा भन्सार छलेको सामान आउँछ। घरबाट समेत अवैध लोहालक्कडको बिक्री गरिन्छ।
त्यति मात्र होइन, वडा समिति रहेको धर्मशाला व्यापार गर्न दिने अनि जे. पी. चर्तुवेदी स्कूल कब्जा गरेर वडा कार्यालय सञ्चालन गर्दा विद्यालयको पठनपाठनमा अवरोध भएको छ। साना साना स्कूले नानीहरूको खेलकुदमा रोक लागेको छ। वडा कार्यालयमा हुने हल्लीखल्लीले जे. पी. चर्तुवेदीका बच्चाहरूको पढाइ खत्तम भएको छ। स्कूल र वडा कार्यालय एउटै भवनमा भएको कतै देख्नु भएको छ? नदेखेको भए हाम्रो वडामा पाल्नुस्।
जे. पी. चर्तुवेदी स्कूलकी संस्थापक दिव्य लक्ष्मी शाक्य (दिपक शाक्यकी दिदी) ले आफ्नो स्कूल र घरमा समेत धक्का पुगेको कुरा जो–सुकैलाई गुनासो गरिरहन्थिन्। भनिन्छ, यस्तै चिन्ताले उहाँलाई असमयमै मर्नु पर्‍यो। स्मरणीय छ, वडा अध्यक्ष चौरसिया यही स्कूलमा पढ्थे। खेल खेल्न दिदीको घर जान्थे। वडा अध्यक्षको अचाक्लीको फेहरिस्त बढ्दै गएको छ।
हो, बैंकको ऋण लिएर जेल सजाय भोगेकाहरू, दिउँसो मदिरा खानेहरू, बेमौसमी हल्ला गर्नेहरूले यिनको साथ पाउँदा वडाको शान्ति भंग हुने क्रम बढेको छ। यी समूहहरू र यिनका नाइके सधैं एउटै भट्टीमा साँझदेखि अबेर रातिसम्म जमघट गरिरहन्छन्। भनिन्छ, वडाअध्यक्षका चुनावी सहयोगी ‘भुट्टा’ भन्ने पनि यिनीसँग पीडित छन्।
वडा नं. ५ को नगरस्तरीय निर्माणको पत्र समेत यहाँ चोरी हुन्छ। कोठे बैठक रमाउने वडा अध्यक्षको अन्यायपूर्ण र भेदभावपूर्ण कामले वडामा रोष क्रमशः बढेको छ। आमा समूहको नाममा समेत लुट मच्चिएको छ। धिक्कार छ, आमा ठग्नेलाई।
त्यस्तै, वडा नं. ५ मा रहेको समाज सेवा समिति समेत वडा अध्यक्ष र यिनका आसेपासेहरूको लुटी खाने, कमाइ खाने भाँडो बनेको छ।
अंकुश दैनिक पत्रिकाबाट साभार

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.