Home » Blog » बेसहारा वीरगंज बेचारा

बेसहारा वीरगंज बेचारा

Ankushdaily
0 comment 94 views

(स्तम्भकार कुमार रुपाखेती)

धेरै अघि देखि नै वीरगंज मेनरोड (त्रिभुवन राजपथ) फराकिलो गर्ने कुरा चल्दै आएको थियो । वीरगंजको सडक फराकिलो गर्ने जोरजुलुमको हल्ला चल्ने र ‘हात्ती आयो, हात्ती आयो फुस्सा’ हुने गरेको थियो । केही दिन अघि पनि त्यस्तै हल्ला चल्यो । कसैले विश्वास नै गरेन । एकाबिहानैदेखि मापदण्डमा परेका घरमाथि जे.सी.भी र डोजर आक्रमण हुँदा सबै छक्क परे ।

पहिले थुप्रै धनवानहरू र नेता भनाउँदाहरूले सडक फराकिलो गर्ने विपक्षमा ढाल बनेर खडा थिए । यिनकै आड भरोसामा २५–२५ मिटरभित्र भीमकाय महलहरू उडाउने होडबाजी समेत चल्यो । मिचाइँ र ढिठ्याइँ यति अचाक्ली बढ्यो कि वीरगंज महानगरपालिकाले समेत नियम मिचेर जनस्वास्थ्य प्रयोगशाला बनाइदियो पुरानो दमकलको जग्गामा । महानगरपालिकाका मेयरको देखासिकी गर्दै अरुले समेत २५ मिटरभित्र भवन, आलिशान मकान बनाए । जुन अहिले निल्नु न ओकल्नु भएको छ ।

राजेशमानलाई टक्कर दिन्छु भन्ने एउटा केटौले वडाध्यक्षले समेत धनवान साबित गर्दै २५ मिटरलाई बेवास्ता गर्दै मेनरोडमा भाडा वसुली गर्न घर बनाए । सरकारी उर्दी अटेर गर्ने सबै घरमालिक “दुहाई हो सरकार” भन्न थालेका छन् । अरुको त कुरा छाडौं, महानगरपालिकाका मेयर (सरकारी अधीनमा रहने) ले के कसरी र किन होशियारी देखाएर जनस्वास्थ्य प्रयोगशाला अटेर गरेर बनाए भन्ने प्रश्न नगरवासीले उठाउन थालेका छन् । वीरगंजको पुरानो इतिहास मेट्न दिँदैनौं भनी मेनरोडवासीलाई आड,भरोसा दिलाउनेहरू अहिले दुलो पसेका छन् । खेल खत्तम पैसा हजम । एकताका खुबै पैसाको चलखेल भएकै हो । अहिले मेनरोड फराकिलो गर्ने कठोर सरकारी रवैयाले आत्तिएका केही धनपति र नेता भनाउँदाहरू खोक्रो विज्ञप्ति र फेसबुके रोइँलोमा सीमित देखिन्छन् । जमानामा वीरगंजको मेनरोडमा भएर रेल चल्दथ्यो ।

वीरगंजको आबादी घना भएपछि रेल सेवालाई वीरगंजबाट पूर्वतर्फ सारिएको थियो, त्यही रेल्वेको जग्गालाई धेरैले घेरघार गर्ने, आफ्नो जग्गामा मिसाउने कार्य करिब ५० वर्षअगाडी देखि नै गरेका थिए । कतिपय छोट नेताहरूले मेनरोड फराकिलो नगर्न दिने कुरा आफ्नो चुनावी घोषणा पत्रमा शगर्व घोषणा गर्दै मेनरोडवासीलाई भोटबैंक बनाउँथे । विकासको लागि विनाश हुँदोरहेछ । अहिले वीरगंज भद्रगोल र कुरूप देखिएको छ । मेनरोडवासीको विजोग हेरिनसक्नु छ । अन्तर्राष्ट्रिय स्तरको सडक निर्माणको क्रममा वीरगंजले बलिदान दिएको छ ।

वीरशमशेरका पालाका वीरगंजका सडकहरूको कायापलट हुने भएको छ । भोलिका दिनमा फराकिलो, सफा, चौडा, वीरगंज आगन्तुकहरूका लागि नौलो प्रस्तुति साबित हुनेछ । वीरगंजको गन्जागोल अब सधैंका लागि समाप्त भएको छ । वीरगंज अब नेपालको प्रवेशद्वार र औद्योगिक क्षेत्र कहलिन काबिल हुनेछ ।

वीरगंजमा मेनरोडवासीले बत्ती, बिजुली, पानी, बसाइँसराइको दुखदायी समस्या भोगिरहेका छन् । वीरगंज भन्सार क्षेत्रको दृश्य झन कहालीलाग्दो छ । सुरक्षाकर्मी र यात्रुहरूको झोला तानातानको दृश्य आम भएको छ । सिमा क्षेत्रमा सुरक्षाकर्मीहरू तानाशाह शासक झै देखिएका छन् । यस्ता कार्यहरूले गर्दा सिमा क्षेत्रमा महँगाई बढेको छ तर भंसार छल्ने तस्करहरू मालामाल हुँदैछन् । सरकार देख्दैन, सुन्दैन ।

बेसहारा वीरगंज बेचारा, बाह रे चमेलीको सरकार …

साभार:- अंकुश दैनिक पत्रिकाबाट

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.