Home » Blog » अवैध चोरीपैठारी नियन्त्रणका लागि समन्वयमा काम गर्न गृहमन्त्री लेखकको निर्देशन

अवैध चोरीपैठारी नियन्त्रणका लागि समन्वयमा काम गर्न गृहमन्त्री लेखकको निर्देशन

Ankushdaily
0 comment 29 views
वीरगञ्ज ।
गृहमन्त्री रमेश लेखकले सीमानाकामा हुने अवैध चोरीपैठारी र निकासी रोक्न सरोकारवाला सबै निकायलाई आपसी समन्वय र सहकार्यमा काम गर्न निर्देशन दिएका छन्।
जिल्ला प्रशासन कार्यालय, पर्सामा आज बसेको राजस्व चुहावट नियन्त्रण समन्वय समितिको बैठकमा मन्त्री लेखकले स्थानीय प्रशासन, भन्सार कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहित सम्पूर्ण निकायबीच सहकार्य आवश्यक रहेको बताए।
“राजस्व चुहावट नियन्त्रणका लागि सबै निकायबीच आपसी समन्वयमा अघि बढ्न आवश्यक छ। दोषारोपण होइन, सहकार्य जरुरी छ,” उनले भने। मन्त्री लेखकले सीमा क्षेत्रमा हुने तस्करी र आपराधिक गतिविधि न्यूनीकरणका लागि तत्काल पहल गर्न पनि आग्रह गरे।
बैठकमा वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष राजस्व सङ्कलन उत्साहजनक रहेको र चालु वर्ष पनि लक्ष्यअनुसारको सङ्कलन हुने अपेक्षा रहेको जानकारी दिए। उनले चोरी–तस्करी नियन्त्रणका लागि सबै निकायले हातेमालो गर्नुपर्ने आवश्यकता औंल्याए।
पथलैया राजस्व अनुसन्धान कार्यालयका प्रमुख हरिप्रसाद शर्माले भारतीय नागरिकले नेपाली नागरिकताको दुरुपयोग गरी विभिन्न ‘फर्म’ दर्ता गरेर तस्करी गर्ने प्रवृत्ति बढेको भन्दै यसलाई रोक्न सुरक्षा निकायले कडाइ गर्नुपर्ने बताए।
पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जिल्लामा शान्ति सुरक्षा र राजस्व चुहावट नियन्त्रणका लागि समन्वयात्मक रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
त्यसैगरी मधेस प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुरवेदीले भन्सार नाका आसपास गोदाम खोल्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने आवश्यकता औंल्याए।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.