Home » Blog » को हुन् तस्करीको साम्राज्य चलाउने राजीव महासेठ?

को हुन् तस्करीको साम्राज्य चलाउने राजीव महासेठ?

Ankushdaily
0 comment 273 views
अंकुश संवाददाता,
विरगंज ।
जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत वरिष्ठ सई सागर राणा र तस्कर राजिव महासेठ बीच भएको कुराकानीको अडियो लिक भए पछि प्रहरी प्रधान कार्यालयले मधेस प्रदेश कार्यालयबाट दुई जना सई गोपाल थापा मगर र जयलाल यादवलाई काठमाडौँ झिकाएको छ ।
र यस प्रकरणमा नेपाल प्रहरीको मधेस प्रदेशका प्रमुख डिआइजीको सिंहासन खतरामा परेको चर्चा व्यापक भए पछि यस्तो क्षमतावान तस्कर कस्तो रहेछन् भन्ने जिज्ञासा जागृत भयो। जनकपुरका पत्रकार मित्र र केही सञ्चार माध्यमबाट प्राप्त जानकारी अनुसार नेपाल–भारत सीमानजिक पर्ने दुहबी क्षेत्रमा राजीव महासेठ र उनको परिवारको नाम अस्वाभाविक व्यापारिक गतिविधिको हुने गरेको छ। मूल रूपमा भारतीय सीमावर्ती क्षेत्र दुहबीकै बासिन्दा रहेका महासेठको उदय बिहारमा मदिरा प्रतिबन्ध भए पछिको समयमा तीव्र रूपमा भएको स्थानीय बताउँछन्।
त्यसअघि आमासँगै अवैध रूपमा किराना सामानको ओसारपसारमा संलग्न उनी, हाल मदिरा र कपडाको ठूलो सञ्जाल चलाउने व्यक्तिका रूपमा चिनिन्छन्। स्थानीय स्तरमा ‘हिरा चाची’ उपनामले परिचित उनकी आमाको प्रभाव यतिसम्म छ कि, उनको नाम लिँदा मात्रै पनि सुरक्षाकर्मीले मालवाहक सवारीसाधनलाई सहजै छोडी दिन्छन्। आमाले किराना सामानको अवैध आयातलाई निरन्तरता दिइरहँदा राजीवले भने मदिरा र कपडाको अवैध कारोबारलाई आफ्नो पकडमा राखेको बुझिएको छ।
स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार महासेठको गिरोहको सञ्जाल निकै फराकिलो र व्यवस्थित छ। उनले दैनिक १०० देखि १५० वटा मोटरसाइकल प्रयोग गरेर नेपालतर्फ किराना र कपडा भित्र्याउने र रातिको समयमा पिकअप भ्यानमार्फत भारततर्फ मदिरा पठाउने गरेको आरोप छ। यसै आर्जनबाट उनले सीमाको वारिपारि दुवैतर्फ सुविधासम्पन्न घरहरू बनाएका छन्, जसलाई सामान भण्डारण गर्ने गोदामका रूपमा प्रयोग गरिन्छ। यसका अतिरिक्त, उनले जनकपुरको देवीचोकमा एक भव्य महलसमेत निर्माण गरिसकेका छन्।
लामो समयदेखि यति ठूलो परिमाणमा शङ्कास्पद गतिविधि भइरहँदा पनि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले उनलाई पक्राउ गर्नुको साटो मौन समर्थन जनाएर गोजी भर्ने गरेको र कहिलेकाहीँ देखावटी रूपमा मात्रै छापा मार्ने गरेको गम्भीर आरोप स्थानीय बासिन्दाको छ। राजिव महासेठसँग भएको कुरा मिडियामा आए पछि वरिष्ठ सई सागर राणा लाई मधेस प्रदेश प्रहरी कार्यालयले केन्द्रमा निलम्बनको सिफारिस गरेको छ। राजिव महासेठको फोन काण्डले गर्दा तीन, तीन जना सई कारबाहीको भागिदार भएका छन् भने उनलाई अहिलेसम्म सोधपुछ अनुसन्धानको दायरामा ल्याउने काम भएको छैन।
मुख्य नाकाहरूबाट आफ्नो दैनिक गुजारा को लागि रु सयभन्दा बढीको सामान ल्याएको नागरिकलाई जनावरको जस्तो व्यवहार गरिँदै छ भने सेटिङमा चल्ने तस्करी धन्धा जारी रहेको बताइन्छ। तस्कर महासेठले आफ्ना आसेपासेहरूलाई पुराना पार्टीहरू देश बिगारेको भन्दै “घण्टी”लाई गत चुनावमा सहयोग गरेको गौरव गाथा सुनाउने गरेका छन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.