Home » Blog » ओलीले नेतृत्व हस्तान्तरण गर्नुपर्छ: अरबिन्द सिंह

ओलीले नेतृत्व हस्तान्तरण गर्नुपर्छ: अरबिन्द सिंह

Ankushdaily
0 comment 18 views
विरगंज।
नेकपा एमालेको १०औँ केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य अरबिन्द सिंहले पार्टी नेतृत्वप्रति तीखो असन्तोष प्रकट गरेका छन्।
बैठकको तेस्रो दिन शुक्रबार दशबुँदे सुझावसहित बोलेका सिंहले दुई–दुईपटक आफ्नै नेतृत्वमा संसद् विघटन गर्ने पार्टीले अहिले फेरि संसद् पुनःस्थापनाको नारा लिएर आन्दोलनमा जानु “हास्यास्पद” रहेको टिप्पणी गरेका छन्।
‘हामी आफैंले संसद् विघटन गरेका हौँ, अब पुनःस्थापनाको माग गर्दै सडकमा निस्कँदा जनता हामीमाथि हाँस्छन्। चुनाव बहिष्कार गर्ने नीति अर्को भिडन्त निम्त्याउने खतरा हो,’ उनले भने, ‘कमजोरी सच्याउँदै चुनावमा जाने बाहेक अब एमालेसँग विकल्प छैन।’
स्मरणीय छ— एमाले र माओवादी केन्द्र एकीकरणपछि बनेको तत्कालीन नेकपाका आन्तरिक विवादका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ र २०७८ जेठ ८ गते दुई पटक प्रतिनिधि सभा विघटन गरेका थिए। दुबै निर्णय सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेको थियो।
सिंहले पार्टीभित्र बढ्दो जनआक्रोशको जड नेतृत्वमै रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले अब जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने माग पनि राखेका छन्।
उनका शब्दमा, ‘आजको जनआक्रोश एमालेमाथि होइन, अध्यक्ष ओली, उनका अभिव्यक्ति र उनलाई घेरेर बस्ने समूहमाथि केन्द्रित छ। त्यसलाई आत्मसात् गरेर नेतृत्व हस्तान्तरण गर्नु नै पार्टीको भविष्य सुरक्षित गर्ने एक मात्र बाटो हो।’
त्यस्तै, उनले पूर्वराष्ट्रपति तथा पार्टीकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गरी पुनः सक्रिय बनाउने माग पनि गरेका छन्।
‘विद्या भण्डारीको सदस्यता नवीकरण गरी पार्टी काममा फर्किने वातावरण बनाउन आवश्यक छ,’ सिंहले बैठकमा सुझाएका छन्।
यस्तो छ अरबिन्द सिंहले बैठकमा राखेका सुझाव र प्रश्नको पूर्ण पाठ
१.भदौ २२ गतेको “जस्तोसुकै चुनौतीको सामना गर्ने रेजिलिएन्ट दृढ अवस्थामा हामी रहेको” राजनीतिक प्रतिवेदनको विश्लेषण २४ घण्टा नपुग्दै फेल भयो। फेल भएको कार्यनीति बोकेर आगामी ५ वर्ष कसरी जाने होला? हाम्रा विश्लेषणहरू वस्तुनिष्ठ हुने गरेका छैनन्। नेतृत्वले के सुन्न रुचाउँछन्, त्यही मात्रै सुनाउने प्रवृत्तिले हामीलाई सच्याउँदैन। सक्किने बाटोमा लैजान्छ।
२. पार्टी सत्ता र राज्य सत्ता हाम्रो हातमा भएको बेला भदौ २३ गते भएको नरसंहारको आरोपबाट सतही विश्लेषणका आधारमा हामीले आजीवन उन्मुक्ति पाउदैनौँ।
३. २४ गतेको विध्वंस, २३ गतेको नरसंहारको प्रतिक्रिया हो जसमा घुसपैठ भयो। जुन घटनालाई विदेशी षड्यन्त्रको सिद्धान्तजस्ता अमुर्त कुरा मात्रै भनेर आफ्नो अकर्मण्यता ढाकछोप गर्दा त्यो समीक्षा फेरि सतही हुन्छ। विस्तृत र वस्तुनिष्ठ विश्लेषण जरुरी छ।
४. भ्रष्टाचार र व्यभिचारका डेढ दर्जनभन्दा बढी आरोपहरूमा आरोपितहरू हामी यहीँ छौँ। त्यसको छानबिन गरेर कारबाही गर्ने बारेमा पार्टीले संस्थागत ढंगले कहिले बोल्ने कि बोल्दै नबोल्ने?
५. वर्तमान अवस्थामा जनताको आक्रोश नेकपा एमालेमाथि भन्दा पनि पार्टी अध्यक्ष, उनका अभिव्यक्ति र उनलाई घेराबन्दीमा राखेर चलाउने समूहमाथि रहेकाले त्यो यथार्थलाई आत्मसात् गर्दै जिम्मेवारी हस्तान्तरण गरेर मार्गप्रशस्त गर्नु नै पार्टीको भविष्य बचाउने एक मात्रै उपाय हो।
६. युवा विद्यार्थी र आम जनता स्वत:स्फूर्तरूपमा सरकारका विरुद्धमा सडकमा आउनु के प्रतिक्रान्ति हो? कुशासन र भ्रष्टाचारको विरुद्ध गरिने सडक संघर्षहरूका कारण सत्ताच्युत हुने कुरालाई प्रतिगमन भन्न मिल्छ? यसमा अझै वस्तुनिष्ठ ढंगले विश्लेषण गर्न जरुरी छ।
७. जनसंगठनहरू कसरी चल्दैछन् भन्ने एउटा उदाहरण- टंक कार्की देखि समीक बडालपछिका पुस्ताले समेत गर्व गर्ने प्यारो संगठन अनेरास्ववियुको अध्यक्षमा एक दिन टिक्न नसकेर राजीनामा दिएर भाग्ने नेतृत्वलाई स्थापित गर्ने कस्तो कार्यशैलीमा पुगेका छौँ हामी?
८. ४ वर्षसम्ममा केन्द्रीय कमिटीका बैठकमा ४-५ जनाबाहेक ३ मिनेट समेत बोल्न नपाउँदा कुनै हीनताबोध र ग्लानी नहुने तपाईं पदाधिकारीहरूले सार्वजनिक खपतका लागि बाहिर बोल्नुको कुनै अर्थ छैन।
९. दुईदुईपटक हामी आफैँले संसद् विघटन गरेकोले संसद् पुनर्स्थापनाको माग लिएर आन्दोलनमा जाँदा हामी आम जनताका बिच घृणा र हासोको पात्र मात्रै हुन्छौँ। चुनाव बहिष्कार गर्ने नीति अर्को भिडन्त निम्त्याउने योजना हो। कमजोरी सच्याउँदै चुनावमा जानुको विकल्प छैन।
१०.विद्या भण्डारीको सदस्यता नवीकरण गरी पार्टी काममा फर्किने वातावरण बनाउन माग गर्दछु।
अरबिन्द सिंह, केन्द्रीय सदस्य, वीरगन्ज

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.