Home » Blog » को हुन् जापानकी पहिलो महिला प्रधानमन्त्री सनई टाकाइची ?

को हुन् जापानकी पहिलो महिला प्रधानमन्त्री सनई टाकाइची ?

Ankushdaily
0 comment 19 views
वीरगंज ।
जापानले इतिहास रचेको छ—देशको पहिलो महिला प्रधानमन्त्री बनेकी छिन् सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) की अध्यक्ष सनई टाकाइची।
बीबीसीका अनुसार, तल्लो सदनका सांसदहरूले प्रधानमन्त्रीका रूपमा टाकाइचीलाई चयन गर्दा उनले २३७ मत प्राप्त गरिन्, जुन बहुमतका लागि आवश्यक संख्याभन्दा बढी हो। अब उनको नाम माथिल्लो सदनबाट पनि अनुमोदन हुने सम्भावना उच्च छ।
६४ वर्षीया टाकाइचीलाई बेलायती दिवंगत पूर्वप्रधानमन्त्री मार्गरेट थ्याचरको ‘आइरन लेडी’का रूपमा तुलना गरिन्छ। उनले तेस्रो प्रयासमा प्रधानमन्त्री बन्न सफल भएकी हुन्।
सन् २०२१ मा पहिलो पटक एलडीपी अध्यक्ष पदका लागि उम्मेदवारी दिँदा उनी दोस्रो चरणमा पुग्न सकिनन्। सन् २०२४ मा पुनः प्रतिस्पर्धा गर्दा पहिलो चरणमा अग्रस्थानमा रहे पनि अन्तिम चरणमा शिगेरु इसिबासँग पराजित भइन्। तर सन् २०२५ मा उनले इसिबा र शिन्जिरो कोइजुमीलाई हराउँदै पार्टी अध्यक्ष पद जितिन् र त्यससँगै प्रधानमन्त्री पनि बनिन्।
पछिल्ला पाँच वर्षमा चार जनाले प्रधानमन्त्री बदलिसकेको ‘स्क्यान्डलग्रस्त’ एलडीपीका लागि टाकाइचीको कार्यकाल चुनौतीपूर्ण हुने देखिएको छ। शिन्जो आबेकी राजनीतिक चेलीका रूपमा परिचित उनीमाथि सुस्त अर्थतन्त्र, अमेरिका–जापान सम्बन्ध सन्तुलन र आन्तरिक विवाद समाधानजस्ता जिम्मेवारी छन्।
टाकाइचीको पृष्ठभूमि
१९६१ मार्च ७ मा नारा प्रान्तमा जन्मिएकी टाकाइचीका पिता टोयोटासँग सम्बन्धित अटोमोबाइल कम्पनीमा काम गर्थे भने आमा प्रहरी सेवामा थिइन्। बाल्यकालदेखि आत्मनिर्भर र दृढ स्वभावकी उनी कोबे विश्वविद्यालयबाट स्नातक भएकी हुन्।
स्नातकपछि उनले मात्सुसिता इन्स्टिच्युटमा अध्ययन गरिन्। युवावस्थामा उनी संगीत र मोटरसाइकलकी सौखिन थिइन्—उनले Kawasaki Z400 चलाउँछिन् र हेभी मेटल संगीत मन पराउँछिन्।
सन् १९८७ मा अमेरिकामा गएर उनले अमेरिकी कांग्रेसकी डेमोक्र्याट सांसद प्याट श्रेडरसँग काम गरिन्, जसले उनलाई पश्चिमी राजनीतिक प्रणाली र लैङ्गिक समानता बारे गहिरो समझ प्रदान गर्‍यो।
जापान फर्किएपछि टाकाइचीले राजनीतिक विश्लेषक, लेखक र TV Asahi की प्रस्तोता रूपमा काम गरिन्। सन् १९९३ मा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधि सभामा निर्वाचित भइन्। पछि उनी एलडीपीमा प्रवेश गरिन् र शिन्जो आबेकी निकट सहयोगी बनिन्।
आबेको कार्यकालमा उनले आन्तरिक मामिला तथा सञ्चार मन्त्रीसहित विभिन्न जिम्मेवारी सम्हालिन्। उनी समलिंगी विवाह, फरक थर राख्ने कानुन र महिलाको राजगद्दी उत्तराधिकारको विरोधी छन्। विदेश नीतिमा उनी संविधानको धारा ९ संशोधन र अमेरिका–जापान गठबन्धन सुदृढीकरणकी पक्षपाती नेतृ मानिन्छिन्।
चीनविरुद्ध कडा र ताइवान समर्थक धारणा राख्ने टाकाइची अब जापानको पहिलो महिला प्रधानमन्त्रीका रूपमा नयाँ राजनीतिक अध्याय सुरु गर्दैछिन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.