Home » Blog » दुई क्यासिनोमा मध्यराति प्रहरीको छापा, सञ्चालकसहित २० जना पक्राउ

दुई क्यासिनोमा मध्यराति प्रहरीको छापा, सञ्चालकसहित २० जना पक्राउ

Ankushdaily
0 comment 272 views
विरगंज ।
मोरङको विराटनगरमा सञ्चालनमा रहेका दुई क्यासिनोमा प्रहरीले आइतबार राति एकैसाथ छापा मार्दै २० जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा क्यासिनोका महाप्रबन्धक र व्यवस्थापकसमेत रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी कवित कटुवालका अनुसार विराटनगरको बिग होटेलमा रहेको च्याम्पियन जोन क्यासिनो र रत्ना होटेलमा सञ्चालित गोल्डेन क्यासिनो मा विशेष सूचनाका आधारमा कारबाही गरिएको हो।
नेपाली नागरिकलाई क्यासिनो प्रवेशमा कानुनी प्रतिबन्ध रहे पनि लामो समयदेखि लुकीछिपी जुवाजन्य खेल सञ्चालन हुँदै आएको सूचनापछि छापा मारिएको प्रहरीले जनाएको छ। कारबाहीका क्रममा गोल्डेन क्यासिनोका महाप्रबन्धक लोकेन्द्रबहादुर बस्नेत र च्याम्पियन जोन क्यासिनोका व्यवस्थापक रामकृष्ण गौतम पक्राउ परेका छन्।
प्रहरीका अनुसार रत्ना होटेलको क्यासिनोबाट १४ जना र बिग होटेलको क्यासिनोबाट ६ जना गरी कुल २० जना नेपाली नागरिकलाई नियन्त्रणमा लिइएको हो। छापा मार्दा क्यासिनोभित्र नेपाली नागरिकहरू खुलेआम जुवा खेलिरहेको अवस्थामा फेला परेपछि व्यवस्थापन पक्षसहित सबैलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको एसपी कटुवालले बताए।
पक्राउ परेकाहरूलाई हाल जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ भने जुवा ऐनअन्तर्गत मुद्दा दर्ता गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरीले जानकारी दिएको छ। हाल विराटनगरमा दुईवटा क्यासिनो सञ्चालनमा रहेका छन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.