Home » Blog » नेपाली कांग्रेसद्वारा कारबाहीमा परेका नेता–कार्यकर्ताको निलम्बन फुकुवा

नेपाली कांग्रेसद्वारा कारबाहीमा परेका नेता–कार्यकर्ताको निलम्बन फुकुवा

Ankushdaily
0 comment 43 views
विरगंज ।
नेपाली कांग्रेसले विगतमा कारबाहीमा परेका आफ्ना नेता तथा कार्यकर्ताको निलम्बन फुकुवा गरेको छ। शनिबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कारबाहीमा परेकाहरूको बाँकी अवधि माफी–मिनाहा गर्ने निर्णय गरेको हो।

यस निर्णयसँगै नेपाली कांग्रेस पर्साका पूर्व सभापति अजय द्विवेदी, पर्सा क्षेत्र नम्बरका सभापति अरबिन्द गुप्तालगायतको कारबाहीसमेत फुकुवा भएको छ।
त्यसैगरी, बैठकले पार्टी परित्याग गरेका नेता तथा कार्यकर्तालाई पुनः पार्टीमा फर्कन आह्वानसमेत गरेको छ। केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने जनाइएको छ।
यस्तो छ पार्टीको निर्णय
पुस १२, २०८२
प्रेस विज्ञप्ति
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्यो । बैठकले समानुपातिक तर्फका ११० उम्मेदवार चयनको मापदण्ड तयार गरेर नाम चयन प्रकृया प्रारम्भ गरेको छ । आजको बैठकले देहाय बमोजिमको अन्य निर्णय गरेको छ ।
अनुशासन समितिको निर्णय सम्वन्धमा :
(१) वर्तमान विकसित राजनीतिक अवस्था र आसन्न प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनलाई मध्येनजर गर्दै पार्टीलाई सुसंगठित बनाउँदै पार्टी भित्र बृहत एकता कायम गर्दै संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको दिगो विकाससंगै संविधानको रक्षा गर्नु पर्ने राष्ट्रिय दायित्वलाई हृदयङ्गम गरी आगामी दिनमा पार्टी हित विपरित हुने गरी अनुशासन उल्लंघनका कुनै पनि कार्य नगर्न नगराउन सचेत गराउँदै देहाय बमोजिमको निर्णय गरिएको छ ।
(क) विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक वा असहयोग गरी अनुशासन विपरीतका काम गरेकाहरूलाई केन्द्रीय अनुशासन समितिले गरेको निष्काशन, निलम्वन र पार्टीको विधान अनुसार स्वतः कार्वाहीमा परेकाहरुको बाँकी अवधि माफी/मिनाहा गर्ने निर्णय गरिएको छ ।
(ख) यसरी कार्वाही माफी/मिनाहा भएका व्यक्तिहरुको क्रियाशील सदस्यतालाई निरन्तरता कायम गरी क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय यो बैठक गर्दछ ।
(२) पार्टी परित्याग गरेकालाई घर फर्कन आह्वान
विगतमा विभिन्न कारणले पार्टी परित्याग गरेर स्वतन्त्र बनेका वा अन्य पार्टीमा गएर उम्मेदवार, प्रस्तावक वा प्रचारक बनेका साथीहरुलाई पार्टीमा फर्कनका लागि केन्द्रीय कार्यसम्पादन समितिको यो बैठक हार्दिक आह्वान गर्दछ । त्यसरी फर्किने साथीहरुलाई क्रियाशील सदस्यता सहित आवश्यक जिम्मेवारी प्रदान गर्ने निर्णय यो बैठक गर्दछ ।
(३) वौद्धिक र व्यवसायिक क्षेत्रलाई आह्वान
विभिन्न पेशा, व्यवसाय र विविध क्षेत्रमा रहि राष्ट्र र जनताको सेवामा समर्पित लोकतान्त्रिक विचार र आस्था भएका व्यक्तिहरुलाई नेपाली कांग्रेसमा सक्रिय भूमिका निर्वाह गर्न कार्यसम्पादन समितिको यो बैठक हार्दिक आह्वान गर्दछ । आजको परिस्थितिमा पार्टी, लोकतन्त्र र समग्र मुलुकको हितका लागि वौद्धिक र व्यवसायिक क्षेत्र विशेष संवाद र सहकार्य गरेर अघि बढ्ने निर्णय नेपाली कांग्रेस गर्दछ ।
कार्य सम्पादन समितिको बैठक २०८२ पुस १३ गते आइतबार बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।
जय नेपाल !
कृष्णप्रसाद पौडेल
मुख्य सचिव

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.