208
वीरगंज ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल, पर्सा जिल्ला समितिले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लाका चारवटै निर्वाचन क्षेत्रबाट उम्मेदवारहरूको नाम सिफारिस गरेको छ।
जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, आज शुक्रवार बसेको जिल्ला कार्यकारिणी समितिको बैठकले क्षेत्र समन्वय समितिहरूको सिफारिसबमोजिम उम्मेदवारहरूको नामावली केन्द्रमा पठाएको हो। जसअनुसार क्षेत्र नं. १ बाट मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउतसहित रामनरेश प्रसाद यादव र बालकिशोर प्रसाद यादवको नाम सिफारिस गरिएको छ भने क्षेत्र नं. २ का लागि सुरेन्द्र प्रसाद कुर्मी, अशोक कुमार टेमानी, सन्तोष तिवारी, कामेश पंडित, आशुतोष चतुर्वेदी र विरेन्द्र प्रसाद यादव गरी ६ जनाको नाम सिफारिसमा परेको छ।
त्यस्तै, क्षेत्र नं. ३ बाट नगेन्द्र प्रसाद यादव र भरत गिरीको नाम सिफारिस हुँदा क्षेत्र नं. ४ बाट भने डा. कृपासिन्धु प्रसाद चौधरीको नाम एकल रूपमा सिफारिस गरिएको छ।
